काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनकाभारतीय मुलका अमेरिकी खेलाडी सन्नी पटेल नेपाल आइपुगेका छन् ।
उनले एनपिएलमा काठमाडौं गोर्खाजको प्रतिनिधित्व गर्नेछन् । शनिबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका पेटललाई काठमाडौंका प्रतिनिधिले स्वागत गरेका थिए ।
काठमाडौं स्पोर्टस डेभलपमेन्ट भेन्चर्स प्रालीको स्वामित्वमा रहेको काठमाडौंले अधिकतम ६ विदेशी खेलाडीको कोटा पूरा गरिसकेको छ । टोलीले विदेशी खेलाडीका रूपमा दक्षिण अफ्रिकाका विकेटकिपर/ब्याटर रिकार्डो भास्कोनेसेलोस, नामिबियाका कप्तान जेरहार्ड इरस्मस, अमेरिकी ब्याटर मिलिन्ड कुमार तथा इङ्लिस ब्याटर बेन चार्ल्सवर्थ र विकेटकिपर/ब्याटर जोहन सिम्पसनलाई अनुबन्धन गरेको छ ।
इरस्मरस, कुमार, सिम्पसन र चार्ल्सवर्थ नेपाल आइसकेका छन् ।
पटेल नेपाली फ्रेन्चाइज क्रिकेटमा निकै लोकप्रिय नाम हुन् । उनले ललितपुर प्याट्रियोसबाट एभरेस्ट प्रिमियर लिग (इपिएल), सिवाइसी अत्तरियाबाट धनगढी प्रिमियर लिग (डिपीएल) र चितवन राइनोजबाट पोखरा प्रिमियर लिग (पिपीएल) को उपाधि जितेका छन् ।
रणजी ट्रफीमा गुजरातको प्रतिनिधित्व गरिसकेका ३८ वर्षे पटेल पछिल्लो समय अमेरिकामा खेल्दै आएका छन् ।
काठमाडौंले मार्की करण केसीसहित भीम सार्की, शाहव आलम रशिद खान, दीपेश कँडेल र प्रतिक श्रेष्ठलाई दोस्रो सिजनमा पनि निरन्तरता दिएको छ ।
यसैगरी मिनी अक्सनबाट मोहम्मद आदिल आलम अन्सारी, सन्तोष यादव, आकाश त्रिपाठी, उत्तम थापामगर, तुलबहादुर थापालाई भित्र्याएको थियो ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा गत वर्षबाट सुरु भएको एनपिएलमा देशका विभिन्न सहरलाई प्रतिनिधित्व गर्दै आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
यो सिजन पनि काठमाडौंसँगै साविक विजेता जनकपुर बोल्ट्स साविक उपविजेतासुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज र लुम्बिनी लायन्स उपाधिका लागि भिड्ने छन् ।
एनपिएलको दोस्रो सिजन सोमबारबाट सुरु हुँदैछ । काठमाडौं उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सको सामना गर्नेछ ।
