काठमाडौं । विराटनगर किंग्स नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व खेलाडी पारस लुनियाको स्वामित्वमा रहेको टोली हो । पूर्व अलराउन्डर लुनिया चेम्बर अफ कर्मस मोरङका बोर्ड सदस्य हुन् । युवा व्यवसायी लुनिया महालक्ष्मी वायर एन्ड केबलका मालिक हुन् ।
गत वर्ष आइरिस प्रशिक्षक केभिन ओ’ब्रायनको नेतृत्वमा खेल्दा एनपिएल वानमा विराटनगरको प्रदर्शन सोचेअनुरुप रहेन । अंकतालिकामा टोली पुछारबाट तेस्रो स्थानमा रह्यो । कुल सातमध्ये पाँच खेलमा विराटनगरले हार बेहोरेको थियो ।
गत वर्षको असफलताबाट पाठ सिक्दै यसपालि टोली फरक लयमा मैदान उत्रने अपेक्षामा छ । अर्थात आसन्न नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनका लागि विराटनगर किङ्स ‘डोमिनेन्ट’ क्रिकेट खेल्न तयार छ । अन्तिम तयारी गरिरहेको विराटनगरले यसपालि गत सिजनका च्याम्पियन प्रशिक्षक पुबुदु दासानायकेलाई नेतृत्व सुम्पिएको छ । कन्सल्टेन्ट प्रशिक्षकमा नेपाली राष्ट्रिय टोलीका पूर्वबलिङ कन्सल्टेन्ट धम्मिका प्रसाद छन् ।
एनपिएलको पहिलो सिजन भित्रिने विदेशी खेलाडीमा न्युजिल्यान्डका मार्टिन गप्टिल ठूला नाममध्ये एक थिए । यसपालि पनि विराटनगरले गप्टिलको सम्झौता नवीकरण गरेको छ । गप्टिलले यसपालि आफ्ना अन्तर्राष्ट्रिय करिअरका प्रतिद्वन्द्वी फाफ डु प्लेसिसलाई सहकर्मीका रूपमा पाएका छन् । डु प्लेसिस दोस्रो सिजनको एनपिएलमा अनुबन्धित सबैभन्दा चर्चित नाम हो ।
विराटनगरको बलियो पक्ष नै विश्व प्रख्यात दुई क्रिकेटरको उर्जा हुनुपर्छ । दुवै खेलाडीसँग अन्तर्राष्ट्रिय क्रिकेटको गहिरो अनुभव छ । गप्टिलसँग मुम्बई इन्डियन्स, पञ्जाव किंग्स र सनराइजर्स हैदराबादबाट इन्डियन प्रिमियर लिग (आइपिएल) खेलेको अनुभव छ । डु प्लेसिसको कुरा गर्ने हो भने उनी सन् २०१८ र २०२१ मा चेन्नई सुपर किङ्सले आइपिएल जित्दाका सदस्य थिए । उनीसँग आइपिएलमा रोयल च्यालेन्जर्स बैंगलुरुको नेतृत्व गरेको अनुभव पनि छ ।

विराटनगरले विदेशी खेलाडीको कोटा पूरा गरिसकेको छ । यी दुईबाहेक विराटनगरले दक्षिण अफ्रिकाका बलर मर्चेन्ट डे लाङ्ग, अस्ट्रेलियाका ब्याटर साम हिजलेट, स्कटल्यान्डका ब्याटर जर्ज मुन्से अनि अमेरिकाका अलराउन्डर शुभम रन्जानेलाई अनुबन्ध गरेको छ ।
विराटनगरले मार्की सन्दीप लामिछानेसहित लोकेश बम, प्रतिश जिसी, बसिर अहमद, नरेन भट्ट र सुवास भण्डारीलाई रिटेन गरेको छ । मिनी अक्सनबाट सूर्य तामाङ, शाहिल पटेल, नारायण जोशी, श्रवण किस्कु र शंकर रानालाई अनुबन्ध गरेको थियो ।
मध्यक्रमका ब्याटर बसिर अहमदका लागि अघिल्लो सिजन केही खास रह्यो । उनी टोलीका लागि सबैभन्दा धेरै रन बनाउने खेलाडी थिए । सात खेलमा बसिरले ३६.२० को औसतमा कुल १८१ रन बनाएका थिए । चितवन राइनोजविरुद्ध बसिरको ६८ रनको अर्धशतकीय इनिङ्स अझै पनि विराटनगर समर्थकको मानसपटलमा ताजै हुनुपर्छ । यसपालि पनि उनीबाट विराटनगरले रनको आशा राखेको छ ।
सन्दीपका लागि पहिलो सिजन बिर्सनलायक रह्यो । सन्दीपले मात्र ६ विकेट लिन सके । विराटनगरले सकारात्मक नतिजा ल्याउन नसक्नुको प्रमुख कारण सन्दीपको कमजोर प्रदर्शन पनि थियो । यसपालि सन्दीप चम्किने हो भने विराटनगरलाई यसको फाइदा हुनेछ । सन्दीप समग्र एनपिएल दोस्रो सिजनकै हेर्नलायक खेलाडी हुन् ।
विराटनगरले प्रतियोगिताको दोस्रो दिन पोखरा एभेन्जर्ससँग खेल्दै ‘एनपिएल सिजन २’ सुरु गर्नेछ । खेल दिउँसो ४ बजे सुरु हुनेछ ।
विराटनगरको टिम
रिटेन गरेका खेलाडीः सन्दीप लामिछाने (मार्की), लोकेश बम, प्रतिश जिसी, बसिर अहमद, नरेन भट्ट, सुवास भण्डारी
मिनी अक्सनबाट अनुबन्ध: सूर्य तामाङ, शाहिल पटेल, नारायण जोशी, श्रवण किस्कु, शंकर राना
विदेशी खेलाडीः मार्टिन गप्टिल, फाफ डु प्लेसिस, मर्चेन्ट डे लाङ्ग, साम हिजलेट, जर्ज मुन्से, शुभम रन्जाने
प्रशिक्षकः पुबुदु दासानयके