काठमाडौं । सौगात ढकाल नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनका लागि चितवन राइनोजको ‘आइकोनिक खेलाडी’ बनेका छन् ।
मंगलबार सम्पन्न ‘ट्यालेन्ट हन्ट’बाट लेग स्पिनर सौगात उत्कृष्ट ठहरिँदै चितवनको टोलीमा छानिएका हुन् । यसैगरी चितवनले सक्रिय कार्की र नरेश प्रधान डेभलपमेन्ट स्क्वाडमा राखेको छ ।
कुशल मल्ल मार्की रहेको चितवन राइनोजले रिजन ढकाल, कमलसिंह ऐरी, अमरसिंह राउटेला र दीपक बोहरा र गौतम केसीलाई रिटेन गरेको छ ।
यसैगरी कलाम अलीको प्रशिक्षणमा रहेको चितवनले मिनी अक्सनबाट देव खनाल, अर्जुन साउद, विपिन रावल, विपिन आचार्य र रञ्जित कुमारलाई अनुबन्ध गरेको थियो ।
टोलीले विदेशी खेलाडीका रूपमा इङ्ल्यान्डका डेविड मलान रवि बोपारा र सैफ जैब, पाकिस्तानका सोहेल तान्वीर तथा युगान्डाका अलराउन्डर अल्पेश रामजानीलाई भित्र्याएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा गत वर्षबाट सुरु भएको एनपिएलमा देशका विभिन्न सहरलाई प्रतिनिधित्व गर्दै आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
यस सिजन पनि चितवनसँगै साविक विजेता जनकपुर बोल्ट्स, साविक उपाविजेता सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स उपाधिको दौडमा छन् ।
एनपिएलको दोस्रो सिजन मंसिर १ देखि २७ सम्म हुँदैछ ।
