काठमाडौं । लुम्बिनी लायन्सका अलराउन्डर विवेक यादवले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजन गुमाउने भएका छन् ।
लुम्बिनीले विवेकसँगै अन्य पाँच खेलाडीलाई दोस्रो सिजनका लागि लगि रिटेन गरेको थियो । चोटको शल्यक्रियापछि आराम गरिरहेकोले विवेकले दोस्रो सिजन खेल्ने छैनन् । उनको स्थानमा सुमित महर्जनलाई टिममा समावेश गरिएको लुम्बिनीले जानकारी दियो ।
सुमितले पहिलो सिजन काठमान्डौं गोर्खाजबाट खेलेका थिए । एनपिएलको टेक्निकल कमिटीले यस प्रतिस्थापन स्वीकृत गरिसकेको छ ।
रोहितकुमार पौडेल मार्की रहेको लुम्बिनीले सन्दीप जोरा, तिलकराज भण्डारी, दिनेश अधिकारी र अविनाश गौतमलाई दोस्रो सिजनका लागि पनि टोलीमा निरन्तरता दिएको छ ।
टिनु योहान्नन प्रशिक्षक रहेको लुम्बिनीले मिनी अक्सनबाट दिलीप नाथ, शेर मल्ल, विशाल पटेल, दुर्गेश गुप्ताका र आदिल खानलाई अनुबन्ध गरेको थियो ।
यस्तै टोलीले विदेशी खेलाडीका रूपमा अस्ट्रेलियाका डार्शी शर्ट, इटालीका थोमस ड्राका र अफगानिस्तानका गुल्बदिन नइबलाई भित्र्याएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा गत वर्षबाट सुरु भएको एनपिएलमा देशका विभिन्न सहरलाई प्रतिनिधित्व गर्दै आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन् ।
यो सिजन पनि लुम्बिनीसँगै साविक विजेता जनकपुर बोल्ट्स, साविक उपविजेता सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज र काठमाडौं गोर्खाज उपाधिका लागि भिड्ने छन् ।
