पुबुदु दसायनायके

प्रधानमन्त्री कप ट्वान्टी-२० फर्म्याटमा गर्न क्यानको प्रस्ताव

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई प्रधानमन्त्री कप (पिएम) एकदिवसीय क्रिकेटलाई टी-ट्वान्टी फर्म्याटमा गर्न प्रस्ताव ल्याएको छ ।

क्यानले बिहीबार राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै म्यानेजर विनोद कुमार दासले हालसम्म ५० ओभर (एकदिवसीय फर्म्याट) खेललाई २० ओभरमा झार्न प्रस्ताव गरेको जानकारी दिए ।

'हामीले ग्लोबल छनोटमा टी-ट्वान्टी खेल खेल्दैछौ । त्यसलाई सहयोग हुन्छ भनेर एकदिवसीयलाई  टी-ट्वान्टीमा लैजान आग्रह गरेका हौं । उहाँहरू सकारात्मक हुनुहुन्छ,' दासले भने ।

बर्सेनि आयोजना हुने पीएकपलाई राखेपले आर्थिक सहयोग गर्दै आएको छ । म्यानेजर दासले यसबारे ठोस निर्णय छिट्टै सार्वजनिक गर्ने तयारी भइरहेकोसमेत बताए ।

बिहीबारनै क्यानले राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकको भूमिकामा पुनरागमन गरेका पुबुदु दासानायकेलाई सार्वजनिक गरेको छ ।

सोही पत्रकार सम्मेलनमा बोल्दै पुबुदुले ३० खेलाडी ग्लोबल छनोटको लागि प्रारम्भिक चरणमा बोलाउने र नाम भोलि बिहानसम्म सार्वजनिक गरिने बताए ।

उनले आफ्नो ध्यान अभ्यासमा केन्द्रित हुने बताएका छन् । उनले क्यानले गरेको कप्तान  नियुक्तिमा परिवर्तन नहुने समेत बताए ।

'कप्तान परिवर्तन हुने छैन । किन कि यसको अधिकार क्यानसँग  हुन्छ,' पुबुदुले भने ।

निवर्तमान कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई क्यानले अनुशासन उल्लंघनको कारबाही गर्दै पदमुक्त गरेको छ ।