काठमाडौं । मेजर लिग सकर (एमएलएस) मा आइतबार इन्टर मियामीले मिनेसोटा युनाइटेड एफसीसँग ४-१ को फराकिलो हार बेहोरेको छ ।
जितसँगै १२ खेलमा २२ अंक जोडेको मिनेसोटा वेस्टर्न कन्फिरेन्सको दोस्रो स्थानमा छ । पराजित मियामी ११ खेलबाट २१ अंकका साथा इस्टर्न कन्फिरेन्सको चौथो स्थानमा छ ।
एलियान्ज फिल्डिमा घरेलु टोली मिनेसोटालाई जित दिलाउन बोन्गोकुहले ह्लोंगवाने, एन्थोनी मार्कानिच र रोबिन लोडले गोल गर्दा एक गोल आत्मघाती उपहारस्वरुप प्राप्त भयो । मियामीका लागि कप्तान लियोनल मेसीले गोल फर्काए ।
खेलको ३२औं मिनेटमा ह्लोंगवानेको गोलमार्फत मिनेसोटाले अग्रता लिएको थियो । कार्लोस हार्भीको पासलाई पोस्टको दिशा दिए ।
पहिलो हाफको इन्जुरी समयमा मार्कनिचले टोलीको अग्रता दोब्बर बनाए । निकोलस रोमेरोले उपलब्ध गराएको बललाई मर्कानिचले हेडमार्फत जाली चुमाए ।
मेसीले ४८औं मिनेटमा गोल गर्दा खेल २-१ को स्थितीमा आयो । उनले जोडी अल्बाको पासलाई सदुपयोग गरे । मार्सेलो विगान्ड्टबाट ६८औं मिनेटमा आत्मघाती गोल हुन पुग्दा मिनेसोटा ३-१ ले अगाडि बढ्यो ।
लोडले ७०औं मिनेटमा गोल गदै मिनेसोटालाई ४-१ को सहज जित दिलाए । उनले तानी ओलुवासेयीको पासलाई वान टचमै गोल लाइन पार गराए ।