काठमाडौं । पञ्जाव किंग्सविरुद्ध ६ रनको रोमाञ्चक जित निकाल्दै रोयल च्यालेन्जर्स बेङ्लुरु इन्डियन प्रिमियर लिग (आइपिएल) को च्याम्पिन बनेको छ ।
बेङ्लुरुले पहिलो पटक उपाधि जितेको हो । यसअघि बेङ्लुरु सन् २००९ मा डेक्कन चार्जर्स, २०११ मा चेन्नई सुपर किंग्स र २०१६ मा सनराइजर्स हैदराबादसँग पराजित भएको थियो ।
पञ्जाव दोस्रो पटक फाइनलमा पराजित भएको हो । यसअघि पञ्जावलाई सन् २०१४ मा कोलकाता नाइट्स राइडर्सले निरास बनाएको थियो ।
बेङ्लुरुले पहिलो क्वालिफायरमा पञ्जावलाई नै हराउँदै फाइनल यात्रा तय गरेको थियो । पञ्जावले दोस्रो क्वालिफायरमा मुम्बई इन्डियन्सविरुद्ध जित निकाल्दै बेङ्लुरुसँगको उपाधि भिडन्त पक्का गरेको थियो ।
मंगलबार अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा बेङ्लुरुले प्रस्तुत गरेको १९१ रनको लक्ष्य पछ्याएको पञ्जावले २० ओभर नै ब्याटिङ गरे पनि १८४ रन बनायो ।
पञ्जावका लागि शशांक सिंहले ३० बलमा ६ छक्का र तीन चौकाको मद्दतले अविजित ६१ रनको योगदान गरे । यसैगरी जोश इङ्लिसले ३९, प्रभसिम्रन सिंहले २६, प्रियान्श आर्चाले २४ र नेहाल वधेराले १५ रन बनाए ।
बेङ्लुरुका लागि भुवनेश्वर कुमार र कुर्णान पाण्डेयाले समान दुई तथा यश दयाल, जोश हेजलउड रोमारियो शेफर्डले समान एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बेङ्लुरुले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १९० रनको योगफल तयार पारेको थियो ।
बेङ्लुरुका लागि विराट कोहलीले ४३, कप्तान रजत पाटिदारले २६, लियम लिभिङस्टोनले २५, मयंक अग्रवाल र जितेश शर्माले समान २४, रोमारियो सेफर्डले १७ तथा फिल साल्टले १६ रन बनाए ।
पञ्जावका लागि कायल जिमिसन र अर्शदीप सिंहले समान दुई तथा युजवेन्दर चहल, अज्मतुल्लाह ओमरजाई र विजयकुमार वैशाकले समान एक विकेट लिए ।