काठमाडौं । कोलकाता नाइट्स राइडर्सविरुद्ध ३९ रनको सहज जित निकाल्दै गुजरात टाइटन्टसले इन्डियन प्रिमियर लिग (आइपिएल) को शीर्ष स्थानमा स्पष्ट दुई अंकको अग्रता लिएको छ ।
जितसँगै गुजरातले आठ खेलमा १२ अंक जोडेको छ । दोस्रोदेखि पाँचौं स्थानमा रहेका टोलीको १० अंक छ ।
यता पराजित काेलकाता आठ खेलबाट ६ अंकका साथ सातौं स्थानमा छ ।
सोमबार इडेन गार्डेन्समा गुजरातले प्रस्तु गरेको १९९ रनको लक्ष्य पछ्याएको घरेलु टोली कोलकाताले १० ओभर नै ब्याटिङ गरे पनि १३९ रनमात्रै बनाउन सक्यो ।
कोलकाताका कप्तान अजिंक्य रहाणेले ३६ बलमा पाँच चौका र एक छक्कासहित सर्वाधिक ५० रनको योगदान गरे । यसैगरी अंगक्रिस रघुवंशीले अविजित २७, आन्द्रे रसेलले २१, रिन्कु सिंह १७ र सुनिल नारायणले समान १७ तथा वेड्कटेश अय्यरले १४ रन बनाए ।
गुजरातका प्रशिद्ध कृष्ण र राशिद खानले समान दुई तथा मोहम्मद सिराज, इशान्त शर्मा, वासिङ्टन सुन्दर र साई किशोरले समान एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको गुजरातले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै १९८ रनको योगफल तयार पारेको थियो ।
गुजरातका लागि कप्तान शुभमन गिलले ५५ बलमा १० चौका र तीन छक्काको मद्दतले सर्वाधिक ९० रनको योगदान गरे । यसैगरी साई सुदर्शनले ३६ बलमा ६ चौका र एक छक्कासहित ५२, जोस बटलरले अविजित ४१ र शाहरुख खानले अविजित ११ रन बनाए ।
शुभमनले पहिलो विकेटका लागि साईसँग ११४ र दोस्रो विकेटका लागि जोससँग ५८ रनको साझेदारी गरेका थिए ।
कोलकाताका लागि वैभव अरोरा, आन्द्रे रसेल र हर्षीत रानाले समान एक विकेट लिए ।