नेपालगञ्ज । लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब प्रतिस्पर्धा गर्दैछन् ।
खेल नेपालगञ्ज रंगशालामा दिउँसो ४ः ३० बजे हुनेछ । जारी सिजन आर्मी तेस्रो तथा पुलिस दोस्रो फाइनलको लक्ष्यमा छन् । यो सिजन आर्मीले इलाम र चितवनमा सम्पन्न महिला फुटबल प्रतियोगिता तथा पुलिसले एन्फा राष्ट्रिय महिला लिगको फाइनल खेलेका थिए ।
तीनै प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपिएफ क्लबले जितेको थियो ।
आर्मी सुनिता चौधरी र पुलिस निरु थापाको कप्तानीमा मैदान उत्रिने छन् ।
आर्मीले सुदूरपश्चिम प्रदेश संघ र पुलिसले भारतको सिलगुढी फुटबल क्लबलाई समान ४-० ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेका हुन् ।
बाँके जिल्ला फुटबल संघको सहकार्यमा अन्तरालले आयोजना गरेको प्रतियोगिता विजेताले ५ लाख ५ हजार ५५५ रुपैयाँ र उपविजेताले २ लाख ५० हजार रुपैयाँ पुरस्कार गर्नेछन् ।
हरेक खेलका प्लेयर अफ द म्याच र विधागततर्फ उत्कृष्ट हुने खेलाडीलाई पनि पुरस्कृत गरिने आयोजक अन्तरालले बताएको छ । खेलको प्रत्यक्ष प्रशारण खेलाडी डटकमको युट्युब च्यानल र फेसबुक पेजबाट हुनेछ ।