क्यान

क्यानको साधारणसभा स्थगित

काठमाडौं । ६ जना बोर्ड सदस्यले अर्को साता धनगढीमा गर्न लागिएको साधारणसभा अवैधानिक भन्दै स्थगित गर्न माग राखेको एक दिन नबित्दै साधारणसभा स्थगित भएको छ ।

असन्तुष्ट ६ जना बोर्ड सदस्यकै मागअनुसार क्यानले बिहीबार अर्को साता हुने तय भएको साधारणसभा स्थगित गरेको जनाएको छ । क्यानले यसअघि यही पुस १४ र १५ गते (बुधबार र बिहीबार) धनगढीमा वार्षिक साधारणसभा गर्ने निर्णय गरेको थियो ।

दुई महिनाअघि नेतृत्वको कार्यशैलीप्रति असहमति जनाउँदै उपाध्यक्ष राजुबाबु श्रेष्ठ र सचिव अशोकनाथ प्याकुर्यालले राजीनामा गरेपछि रिक्त रहेको पदपूर्तिका लागि यही साधारणसभामा चुनाव हुने कार्यक्रम थियो ।

तर असन्तुष्ट सदस्यहरुले बुधबार पत्रकार सम्मेलन गर्दै साधारणसभालाई ‘अवैधानिक’ भन्दै तत्काल रोक्न माग गरेका थिए ।

क्यानको विधानअनुसार जिल्ला संघहरूको साधारणसभा प्रत्येक चार वर्षमा हुनुपर्ने र २० भन्दा बढि जिल्लाको समयसीमा सकिएकाले त्यहाँबाट आउने प्रतिनिधि नै वैधानिक नहुने भन्दै स्थगित गर्न ६ जना बोर्ड सदस्यले माग गरेका थिए ।

त्यहीअनुसार बिहीबार क्यानले पनि आफ्ना ३९ मध्ये २० जिल्ला संघको कार्यकाल सकिएकाले जिल्लाको अधिवेशनपछिमात्र केन्द्रिय साधारणसभा गर्न अनुरोध भएको जनाउँदै अनिश्चित कालका लागि स्थगित गरेको जनाएको छ ।

‘संघ मातहतका ३९ जिल्लामध्ये चार वर्षे कार्यकाल पूरा भएका केही जिल्लाबाट जिल्ला अधिवेशनपश्चातमात्र केन्द्रिय साधारणसभा गर्नका लागि अनुरोध प्राप्त भएको हुँदा क्यानले राष्ट्रिय खेलकुद परिषद (राखेप) र आइसिसीसँग समेत समन्वय गरी आगामी बोर्ड बैठकबाट नयाँ मिति तय गर्ने गरी हाललाई उक्त साधारणसभा स्थगित गरिएको ब्यहोरा जानकारी गराइन्छ’, क्यानले आफ्नो फेसबुक पोस्टमा लेखेको छ ।

क्यानका बोर्ड सदस्यहरु ऋषिराम गौतम, अमितवीर पाण्डे, करण महतारा, मोहम्मद दाउद अनसारी, सञ्जयराज सिंह र छुम्बी लामाले विधानअनुसार साधारणसभा गर्न नमिल्ने भन्दै बुधबारै राखेप र युवा तथा खेलकुद मन्त्रालयमा पनि रोक्नका लागि ज्ञापनपत्र बुझाएका थिए ।

पछिल्लो समय राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीसहित मुख्य खेलाडी सोमपाल कामी र कमलसिंह ऐरीमाथि गरेको कारबाहीका कारण क्यान चर्को विवादमा घेरिएको छ ।