प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता

सेमिफाइनल समिकरण पूरा

धनगढी । प्रदेश दुईलाई ८७ रनले पराजित गर्दै सुदुरपश्चिम प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा स्थान पक्का गरेको छ  । 

यससँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । यसअघि समूह ‘ए’ बाट प्रदेश एक र लुम्बिनी प्रदेश तथा समूह ‘बी’ बाट एपिएफले सेमिफाइनलमा स्थान पक्का गरिसकेका थिए ।

एपिएफ र गण्डकी प्रदेशबीच आज हुने अन्तिम खेलले समूह ‘बी ’को विजेता र उपविजेताको टुङगो लगाउने छ । एपिएफ र सुदुरपश्चिमको समान चार अंक छ ।

फाप्ला क्रिकेट मैदानमा सुदुरपश्चिमले प्रस्तुत गरेको एक सय ४४ रनको लक्ष्य पछ्याएको प्रदेश दुईले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ५६ रन मात्र जोड्न सक्यो ।

प्रदेश दुईकी साना प्रविनले १४ रन जोडिन् भने बिमला मगरले १२ रन बनाइन् । अन्य ब्याटरले दोहोरो अंकमा स्कोर गर्न सकेनन् ।प्रदेश दुईले अतिरित्तका रुपमा १४ रन पाएको थियो । 

यसअघि विन्दु रावलको अर्धशतकप्रेरित सुदुरपश्चिमले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ४३ रनको योगफल खडा गरेको थियो ।

सुदुरपश्चिमका लागि विन्दु रावलले अविजित ५० रन जोडिन् । त्यस्तै रुबि पोदारले २१,  डल्ली भट्टले १५ तथा  कविता जोशी र संगीता धामीले समान १३ रन बनाए ।

प्रदेश दुईका लागि विमला मगरले दुई विकेट लिइन । त्यस्तै साना प्रविन र अनुराधा चौधरीले समान एक लिए ।