धनगढी । प्रदेश दुईले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित हात पारेको छ ।
फाप्ला क्रिकेट मैदानमा बुधबार सम्पन्न समूह बी को दोस्रो खेलमा प्रदेश दुईले गण्डकी प्रदेशमाथि सात विकेटको सानदार जित हात पार्दै सेमिफाइनल प्रवेश सम्भावना जीवित राखेको छ ।
गण्डकी प्रदेशले प्रस्तुत गरेको ४० रनको लक्ष्य प्रदेश दुईले १०.३ ओभरमा मात्र तीन विकेट क्षतीमा पूरा गरेको थियो ।
प्रदेश दुईका लागि ओपनर अनुराधा चौधरीले १२ र साना प्रविनले १२ रन जोडे ।
गण्डकीकी सिला क्षेत्रीले एक विकेट लिइन ।
समूह ‘बी’ मा दुई खेलमा सतप्रतिशत नतिजा ल्याएको एपिएफ शीर्ष स्थानमा छ र एक खेल अगावै सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ । सुदुरपश्चिम प्रदेश र प्रदेश दुईको समान दुई अंक छ । दुई खेलमा पराजित गण्डकीले अंक खाता खोलेको छैन ।
समूह चरणको अन्तिम खेलमा एपिएफले गण्डकीको सामना गर्दा प्रदेश दुईले सुदुरपश्चिमको सामना गर्दैछ । प्रदेश दुई र सुदुरपश्चिमबीचको विजेता सेमिफाइनल प्रवेश गर्नेछ ।
यसअघि टस जितेर ब्याटिङ रोजेको गण्डकी १७.१ ओभरमा मात्र ३९ रनमा सीमित भयो । गण्डकीकी अञ्जली विश्वकर्माले १५ रन जोड्दा अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा स्कोर गर्न सकेनन् ।
गण्डकीलाई सस्तोमा सीमित पार्ने क्रममा प्रदेश दुईकी सन्तोषी चौधरीले तीन र अनुराधा चौधरीले दुई विकेट लिए ।