काठमाडौं । साविक विजेता नेपाली महिला टोलीले बिहीबार श्रीलंकासँग खेल्दै एसियन सेन्ट्रल जोनको उपाधि रक्षा अभियान सुरु गर्दैछ ।
बंगलादेशको ढाकामा हुने प्रतियोगिताका लागि सोमबार त्यहाँ पुगेको टोलीले दुई दिनदेखि अभ्यास गरिरहेको छ । यद्यपि, टोलीले प्रतियोगिताका लागि एक महिनादेखि प्रशिक्षण गरेको थियो ।
साविक विजेता नेपालका लागि भोलिको खेल फाइनल सरह हुने मुख्य प्रशिक्षक जगदीश भट्ट बताउँछन् ।
‘श्रीलंकासँगको खेल फाइनल जस्तै हुनेछ । भोलि कोर्टमा उत्रिदा हाम्रो लक्ष्य जित नै हुनेछ,’ उनले खेलाडीसँग भने, ‘श्रीलंकाली टोलीमा नयाँ खेलाडी र पुराना खेलाडी रहेछन्, टोली पहिलाकोभन्दा राम्रो पनि रहेछ । तर हाम्रो टोली पनि कम छैन ।
प्रतियोगिता हुने हलमै दुई दिन तयारी गर्न पाएकाले नेपाली टोली घुलमिल भइसकेको उनले बताए । भोलि हुने नेपाल र श्रीलंकाबीचको खेल ११ः१५ मा हुनेछ ।
महिलातर्फ ६ टोलीको सहभागिता रहेको प्रतियोगिताको पहिलो खेलमा माल्दिभ्स र उज्वेकिस्तानबीच हुनेछ ।