प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता

एपिएफसँग सुदुरपश्चिमको लज्जापद हार

धनगढी । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेशले एपिएफ क्लबसँग लज्जापद हार व्यहोरेको छ । 

बुधबारको पहिलो खेलमा सुदुरपश्चिमलाई ८९ रनले हराएसँगै एपिएफले एक खेल अगावै सेमिफाइनलमा स्थान बनायो ।

 एपिएफको दुुई खेलमा चार अंक छ भने सुदुपश्चिमको समान खेलमा दुई अंक छ । प्रदेश दुई र गण्डकी प्रदेशले अंक खाता खोलेका छैनन् ।

एपिएफले प्रस्तुत गरेको एक सय २९ रनको लक्ष्य पछ्याएको सुदुरपश्चिम १४ ओभरमा मात्र ३९ रनमा सीमित भयो । 

सुदुरपश्चिमका लागि कप्तान रितु कनौजिया र रुबी पोदारले समान १० रन जोडे । अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा स्कोर गर्न सकेन् ।

सुदुरपश्चिमलाई सस्तोमा सीमित पार्ने क्रममा एपिएफकी करुणा भण्डारीले चार विकेट लिइन । त्यस्तै सोनु खड्का, रेखा रावल र सीता राना मगरले समान एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङका लागि आएको एपिएफले निर्धारित २० ओभरमा ७ विकेट क्षतिमा एक सय २८ रनको योगफल खडा गरेको थियो ।

एपिएफका लागि ओपनर इन्द बर्माले सर्वाधिक ३३ रन जोड्दा राजमती ऐरीले १९, रोमा थापाले १६ र सरिता मगरले १४ रन जोडे । 

सुदुरपश्चिमका लागि कप्तान रितु कनौजियाले तीन तथा दिपा जोरा र कविता जोशीले समान दुई विकेट लिए ।

बुधबार हुने दोस्रो खेलमा प्रदेश दुई र गण्डकी प्रदेश भिड्दैछन् ।