काठमाडौं । महिला त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी-२० शृंखलाको पहिलो खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध फिल्डिङ गर्ने भएको छ ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालकी कप्तान इन्दु बर्माले टस जितेर फिल्डिङको निर्णय गरेकी हुन् ।
ट्वान्टी २० अन्तर्राष्ट्रियमा नेपाल र नेदरल्यान्ड्स पहिलो पटक आमने सामने हुँदैछन् । खेल अपरान्ह १२ः१५ मा सुरु हुँदैछ ।
आइसिसी ट्वान्टी-२० वरीयतामा नेपालभन्दा नेदरल्यान्ड्स अगाडि छ । नेपाल २० र नेदरल्यान्ड्स १६औं स्थानमा छन् । शृंखलामा नेपाल र नेदरल्यान्ड्ससहित थाइल्यान्डको सहभागिता रहेको छ ।
घरेलु भूमिमा नेपालले दोस्रो पटक शृंखला खेल्दैछ । यसअघि नेपालल युगान्डसँग ५ खेलको ट्वान्टी २० शृंखला खेलेको थियो । यो शृंखला नेपालले ३-२ ले गुमाएको थियो ।
अलिशाकुमारी यादव तथा मनिषाकुमारी उपाध्यायको राष्ट्रिय टोलीबाट डेब्यू गरेका छन् ।
नेपालको प्लेइङ-११
इन्दु बर्मा(कप्तान), सीता रानामगर, रुविना क्षेत्री, विन्दु रावल, सम्झना खड्का, कविता कुवँर, पुजा महतो, कविता जोशी, मनिषाकुमारी उपाध्याय, अलिशाकुमारी यादव, ईश्वरी विष्ट