काठमाडौं । अभिषेक शर्माको उत्कृष्ट प्रदर्शनप्रेरित घरेलु टोली भारतले इङ्ल्यान्डविरुद्ध ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा सात विकेटको सहज जित दर्ता गरेको छ ।
जितसँगै भारतले पाँच खेलको शृंखलामा १-० को अग्रता लिएको छ । दोस्रो खेल शनिबार हुनेछ ।
बुधबार इडेन गार्डेनमा इङ्ल्यान्डले प्रस्तुत गरेको १३३ रनको लक्ष्य भारतले १२.५ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो ।
भारतका लागि अभिषेकले ३४ बलमा आठ छक्का र पाँच चौकाको मद्दतले सर्वाधिक ७९ रनको योगदान गरे । यसैगरी सन्जु स्यामसनले २६ र तिलक वर्माले अविजित १९ रन बनाए ।
तेस्रो विकेटका लागि अभिषेक र तिलकबीच ८४ रनको साझेदारी भयो । इङ्ल्यान्डका लागि जोफ्रा आर्चरले दुई र आदिल राशिदले एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको इङ्ल्यान्डले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १३२ रनको योगफल तयार पारेको थियो ।
इङ्ल्यान्डका लागि कप्तान जोस बट्लरले ४४ बलमा आठ चौका र दुई छक्काको मद्दतले सर्वाधिक ६८ रनको योगदान गरे । यसैगरी ह्यारी ब्रुकले १७ र जोफ्रा आर्चरले १२ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
तेस्रो विकेटका लागि जोस र ह्यारीले ४८ रनको साझेदारी गरे । भारतका लागि वरुण चक्रवर्तीले तीन तथा हार्दिक पाण्डेय, अर्शदीप सिंह र अक्षर पटेलले समान दुई विकेट लिए ।