प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता

लुम्बिनी सेमिफाइनलमा

धनगढी । लुम्बिनी प्रदेश कैलालीको धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताको दोस्रो दिन (आइतबार) को पहिलो खेलमा कर्णाली प्रदेशलाई १० विकेटले हराउँदै लुम्बिनीले प्रतियाेगिताकाे अन्तिम चारमा स्थान सुरक्षित गरेकाे हाे । 

फाप्ला क्रिकेट रंगशालामा कर्णालीले दिएको १८ रनको झिनो लक्ष्य लुम्बिनीले ३ दशमलव १ ओभरमा विना विकेट क्षति भेट्टायो । लुम्बिनीको जितमा लक्ष्मी चौधरीले १२ र नेरी थापाले ५ रन बनाईन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गर्दै कर्णालीले हुस्सु र सितलहरका कारण ६ ओभरमा घटाईएको खेलमा तीन विकेट गुमाएर १७ रनकाे याेगफल खडा गरेकाे थियो ।

कर्णालीका कप्तान आयुशा टण्डन र  दिक्षा पुरीले समान सात बनाए। 

लुम्बिनी प्रदेशका लागि सुस्मिता भुषालले २ र नेरी थापाले एक विकेट लिईन् । 

आजकाे दोस्रो खेलमा बागमति प्रदेश र प्रदेश नम्बर १ खेल्नेछन् । नेपाल क्रिकेट संघको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको सह आयोजनामा सञ्चालन भईरहेको प्रतियोगिता पुस ११ गतेसम्म सञ्चालन हुनेछ । 

सात प्रदेश र एक विभागीय गरी आठ टिम सहभागी प्रतियोगिता दुई समूहमा विभाजन गरी खेलाइदैछ । 

समूह ए मा प्रदेश नम्बर १, लुम्बिनी प्रदेश, बाग्मती प्रदेश र कर्णाली प्रदेश तथा समूह बी मा नेपाल एपीएफ क्लब, सुदूरपश्चिमम प्रदेश, गण्डकी प्रदेश र प्रदेश नम्बर २ रहेका छन् ।

प्रतियोगितामा प्रथम हुने टाेलीले ५ लाख, द्वितीयले ३ लाख, प्लेयर अफ द सिरिजले २५ हजार, बेष्ट बलरले १५ हजार तथा बेस्ट ब्याटरले १५ हजार पुरस्कार प्राप्त गर्ने छन् ।