स्पेनिस ला लिगा

एट्लेटिको मड्रिड असहज परिस्थितीमाः सिमोन

मड्रिड । स्पेनिस ला लिगाअन्तर्गत शनिबार सेभियासँग २-१ ले पराजित भएपछि एट्लेटिको मड्रिडका प्रशिक्षक डियागो सिमोनले टोली असहज परिस्थितीमा रहेको बताउँदै हारको जिम्मेवारी लिएका छन् ।

‘हामी अहिले असहज परिस्थितीमा छौ र नतिजा पनि आफूअनुकुल निकाल्न सकिरहेका छैनौं,’ उनले भने, ‘तर खेलाडीहरु चोट मुक्त भएर आत्मविश्वासका साथ पुरानै लयमा आउँछन् भन्नेमा म विश्वस्त छु । सेभियासँगको हारको जिम्मेवार म लिन्छु । हामी प्रत्येक खेलबाट एक पाठ सिक्दै अघि बढनेछौं ।’

लिगमा एट्लेटिकोको यो लगातार तेस्रो हार हो ।

सेभियाको जितमा इभान राकिटिकले सातौं मिनेटमा अग्रता बनाए । एट्लेटिकोका फेलिपेले ३३औं मिनेटमा गोल फर्काए तर ८८औं मिनेटमा लुकास ओकामपोसले निर्णायक गोल गरेपछि सेभियाले जित पक्का गरेको थियो ।

एट्लेटिको खेलाडी एन्टोनियो ग्रिजम्यान, जोस मारिया गिमिनेज, स्टेफन साभिक र सिम भार्सालिज्को चोटका कारण आराममा छन् ।

तालिकाको पाँचौ स्थानमा रहेको एट्लेटिको मड्रिडले १७ खेलबाट २९ अंक जोडेको छ । समान खेलबाट ३७ अंक जोडेको सेभिया तालिकाको दोस्रो स्थानमा छ ।