प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता

प्रदेश एकसँग कर्णाली निरिह, ६ रनमै सीमित

धनगढी । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा प्रदेश एकसँग कर्णाली प्रदेश निरिह बनेको छ ।

शनिबारबाट सुरु प्रतियोगिताको उद्घाटन खेलमा फाप्ला क्रिकेट मैदानमा प्रदेश एकले प्रस्तुत गरेको एक सय ६७ रनको लक्ष्य पछ्याएको कर्णाली ११.४ ओभरमा मात्र ६ रनमा सीमित भएको थियो ।

प्रदेश एकले कर्णालीलाई एक सय ६० रन हराएको हो ।अघिल्लो बर्ष भएको प्रधानमन्त्री कपमा पनि कर्णाली ६ रनमा सिमित भएको थियो । 

कर्णालीका लागि कप्तान आयुषा टण्डनले बनाएको ३ रन नै सर्वाधिक बन्यो । टोलीका लागि लक्ष्मी रिजाल र अंशु शाक्यले समान एक रन बनाउँदा ७ जना खेलाडीले रन खाता खोल्न सकेनन् ।

प्रदेश नम्बर एककी अलिसा खडीयाले पाँच  विकेट लिइन् । त्यस्तै संगीता राईले दुई र सबनम राईले एक विकेट लिइन् ।

आजै हुने दोस्रो खेलमा बाग्मती प्रदेश र लुम्बिनी प्रदेश भिड्दैछन् । 

नेपाल क्रिकेट संघको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेटको सहआयोजनामा  सञ्चालन हुन लागेको प्रतियोगिता पुस  ११ गते सम्पन्न हुनेछ ।

सात प्रदेश र एक विभागीय गरी आठ टोली सहभागी हुने प्रतियोगिता दुई समूहमा विभाजन गरिएको छ ।

जसअन्तर्गत समूह ए मा प्रदेश नम्बर एक, लुम्बिनी प्रदेश, बाग्मती प्रदेश र कर्णाली प्रदेश तथा समूह बि मा नेपाल एपीएफ क्लब, सुदूरपश्चिमम प्रदेश, गण्डकी प्रदेश र प्रदेश नम्बर दुई रहेका छन् । 

प्रतियोगिताको विजेता र उपविजेताले क्रमशः पाँच लाख रुपैयाँ र तीन लाख रुपैयाँ हात पार्नेछन् । त्यस्तै वुमन अफ द सिरिजले २५ हजार रुपैयाँ, उत्कृष्ट र ब्याटरले समान १५ हजार रुपैया तथा प्रत्येक खेलको वुमन अफ दी म्याचले  २ हजार रुपौयाँ प्राप्त गर्नेछन् ।