काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज कर्णाली याक्सले विपिनप्रसाद शर्मालाई ‘आइकोनिक प्लेयर्स’मा छनोट गरेको छ ।
कर्णाली याक्सले मंगलबार अन्तिम छनोटमा रहेका पाँच उत्कृष्ट खेलाडीमध्यबाट विपिनलाई ‘आइकोनिक प्लेयर्स’ चयन गरेको जानकारी दियो ।
‘आइकोनिक प्लेयर्स’ बनेसँगै विपिनले नेपाल प्रिमियर लिगमा कर्णाली याक्सको प्रतिनिधित्व गर्न पाउने छन् ।
हिमालयन विल्डर्स एन्ड इन्जियर्सको स्वामित्वमा रहेको कर्णालीले सुर्खेत वीरेन्द्रनगरमा भएको छनोट कार्यक्रमबाट विपिनसँगै मनिष थापा, निश्चल रावल, राजप्रसाद शाह र अरविन्द घर्तीलाई छानेको थियो । सबैले प्रदेशबाट राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् ।
बाँकी चार खेलाडीलाई पनि विशेष प्रशिक्षणमा सहभागी गराइने क्लबले बताएको छ ।
ज्ञानेन्द्र मल्ल प्रशिक्षक रहेको कर्णालीको मार्की खेलाडीमा राष्ट्रिय टिमका अलराउन्डर सोमपाल कामी छन् ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा एनपिएल मंसिर १५ देखि पुस ६ गतेसम्म हुँदैछ ।
प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ । लिगमा कर्णालीसँगै सुदूरपश्चिम रोयल्स पोखरा एभेन्जर्स, जनकपुर बोल्ट्स, काठमाडौं गुर्खाज, चितवन राइनोज, विराटनगर किंग्स र लुम्बिनी लयान्सले प्रतिस्पर्धा गर्नेछन् ।