काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोलीले सुदूरपश्चिम रोयल्सले आफ्नो तेस्रो विदेशी खेलाडीका रूपमा न्युजिल्यान्डका अलराउन्डर स्कट कुग्गेलिजनलाई अनुबन्ध गरेको छ ।
सुदूरपश्चिमले सामाजिक सञ्जालमार्फत ३२ वर्षीय कुग्गेलिनलाई अनुबन्ध गरेको जानकारी दियो । कुग्गेलिनले न्युजिल्यान्डका लागि १८ ट्वान्टी-२० अन्तर्राष्ट्रियमा १६ विकेट लिएका छन् । यसैगरी उनलको नाममा ७९ रन पनि छ ।
यसअघि सुदूरपश्चिमले स्कटल्यान्डका ब्याटर ब्रेन्डन म्याकमुलन र इङ्ल्यान्डका सैफ अली जैबलाईलाई भित्र्याएको थियो ।
सुदूरपश्चिमको मार्की खेलाडीमा राष्ट्रिय टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी छन् । टोलीले जगत टमाटालाई प्रशिक्षण जिम्मेवारी सुम्पिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा एनपिएल मंसिर १५ देखि पुस ६ गतेसम्म हुँदैछ ।
प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ । लिगमा सुदूरपश्चिमसँगै पोखरा एभेन्जर्स, जनकपुर बोल्ट्स, काठमाडौं गुर्खाज, चितवन राइनोज, विराटनगर किंग्स, कर्णाली याक्स र लुम्बिनी लयान्सले प्रतिस्पर्धा गर्नेछन् ।