काठमाडौं । नेपाल प्रिमियर लिग ( एनपिएल) को फ्रेन्चाइज टोली कर्णाली याक्सले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।
सोमबार क्लबको स्वामित्व लिएको हिमालयन बिल्डर्स एन्ड इन्जिनियर्सले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपाली राष्ट्रिय क्रिकेट ‘ए’ टोली का प्रशिक्षक पनि रहेका मल्ललाई टिममा भित्र्याएको जानकारी दियो।
कर्णाली याक्सको मार्की खेलाडीमा सोमपाल कामी छन्।
नेपाल क्रिकेट संघ (क्यान)ले पहिलो पटक आयोजना गर्न लागेकाे प्रतियोगिता मंसिर १५देखि पुस ६ गतेसम्म हुँदैछ ।
करिब १५ वर्ष नेपालको प्रतिनिधित्व गरेको ज्ञानेन्द्र मल्लले सन् २०२३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका थिए ।
पूर्व कप्तान ज्ञानेन्द्र मल्लले नेपालबाट ट्वान्टी-२० अन्तर्राष्टियमा ४५ खेल खेल्दै ८८३ रन बनाएका छन् । उनले सन् २०१९ मा भुटानविरुद्ध शतक बनाएका थिए ।