ट्वान्टी २० विश्वकप

ट्वान्टी २० विश्वकपका स्मरणीय क्षण

काठमाडौं । अस्ट्रेलियालाई पहिलो पटक उपाधिको ताज पहिर्याउँदै संयुक्त अरब इमिरेट्स (युएई)मा एक महिना चलेको ट्वान्टी २० विश्वकपको सातौं संस्करण आइतबार दुबईमा सम्पन्न भएको छ ।

एक महिनाको बीचमा १६ टोलीका बीच प्रारम्भिक चरणदेखि सुपर १२, सेमिफाइनल र फाइनल हुँदै कुल ४५ खेल भए । यसबीचमा क्रिकेटको सबभन्दा छोटो स्वरुपको कान्छो विश्वकपको थुप्रै रोचक क्षणहरुसँग साक्षात्कार भयो । त्यसमध्ये दस क्षण कम्तिमा अर्को विश्वकप नभएसम्मका लागि क्रिकेटप्रेमीहरुको स्मरणमा ताजा रहनेछन् ।

क्याम्फरको जादुमय बलिङ

आयरल्यान्डका बलर कर्टिस क्याम्फरले नेदरल्यान्ड्समाथि सात विकेटको जित हासिल गरेको खेलमा चार बलमा चार विकेट लिए ।

आयरल्यान्डको जितमा निर्णायक भूमिका निर्वाह गर्ने क्रममा क्याम्फरले ह्याट्रिक लिएपछि लगत्तैको बलमा अर्को विकेट लिएका थिए ।

क्याम्फरले चार ओभरमा २६ रन खर्चेर चार विकेट लिएपछि नेदरल्यान्ड्स एक सय ६ रनमा सीमित भएको थियो ।

यो प्रदर्शनपछि ट्वान्टी २० अन्तर्राष्ट्रिय क्रिकेटको इतिहासमा लगातार चार बलमा चार विकेट लिने क्याम्फर तेस्रो बलर बनेका थिए । उनीअघि अफगानिस्तानका रासिद खान र श्रीलंकाका लसिथ मालिंगाले २०१९ मा यस्तो सफलता हासिल गरेका थिए ।

भारतमाथि पाकिस्तानको पहिलो जित

बाबर आजम र मोहम्मद रिजवानले अविजित अर्धसतक प्रहार गरेपछि पाकिस्तानले विश्वकपमा चिर प्रतिद्वन्द्वी भारतमाथि पहिलो जित हासिल गर्ने क्रममा १० विकेटको रवाफ जमायो ।

जितका लागि एक सय ५२ रनको लक्ष्य पछ्याउने क्रममा कप्तान बाबरले ६८ र रिजवानले ७९ रन बनाएपछि दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पाकिस्तान १३ बल बाँकी रहँदै विजयी भएको थियो ।

तिब्र गतिका बायाँ हाते बलर शाहिन शाह अफ्रिदीले प्रतियोगितामा भारतविरुद्धका ६ प्रयासमा पहिलो जित दिलाउनका लागि ३१ रन खर्चेर तीन विकेट लिँदै बलियो आधार बनाएका थिए । उनले ५७ रन बनाएका विपक्षी कप्तान विराट कोहलीसहित भारतका ओपनिङ ब्याटरहरु केएल राहुल र रोहित शर्माको विकेट लिएका थिए ।

डि ककको अडान

दक्षिण अफ्रिकाका स्टार क्विन्टन डी ककले वेस्ट इन्डिजविरुद्धको खेलमा घुँडा टेकेर रंगभेदविरुद्ध ऐक्यबद्धता जनाउन अस्विकार गर्दै खेल बहिस्कार गरे ।

क्रिकेट दक्षिण अफ्रिकाले प्रतियोगितामा रंगभेदविरुद्ध ऐक्यबद्धता जनाउन खेलअघि घुँडा टेकेर बस्न खेलाडीलाई निर्देशन दिएको केही घण्टामै डी ककले यस्तो निर्णय गरेका थिए ।

डी ककले दुई दिनपछि आफ्नो उक्त निर्णयप्रति माफी माग्दै बाँकी टिमसँगै रंगभेदविरुद्धको अभियानमा सरिक हुँदा आफू पनि खुसी हुने बताएका थिए ।

‘मैले घुँडा टेकेर अरुलाई शिक्षा प्रदान गर्न सहयोग मिल्छ भने त्यसमा म खुसी हुन्छु । अरुको जीवन खुसी बनाउँन आफ्नो तर्फबाट केही गर्न सक्दा म खुसी हुन्थेँ,’ उनले भनेका थिए ।

ट्रोलविरुद्ध कोहली आक्रोषित


पाकिस्तानसँग पराजित भएको खेलमा भारतको टोलीबाट एकमात्र मुस्लिम खेलाडी मोहम्मद सामी खेलेका थिए । समर्थकहरुले उक्त हारमा सामीलाई दोष लगाउँदै ट्रोल बनाएका थिए । जसमा भारतीय कप्तान कोहली त्यस्ता समर्थकहरुसँग निक्कै आक्रोषित भए ।

‘हामी मैदानमा खेल्नुको राम्रो कारण छ । हामी सामाजिक सञ्जालमा जथाभावी लेख्ने तर व्यक्तिका रुपमा मानिससँग बोल्ने हिम्मत नभएका मेरुदण्डविहिन मानिसहरुका लागि खेल्दैनौं,’ कोहलीले भने, ‘एउटा मानिसले गर्न सक्ने सबभन्दा दयनीय काम भनेको कसैलाई उसको धर्मलाई लिएर आक्रमण हो ।’

उपाधिको मुख्य दाबेदारका रुपमा युएई पुगेको भारत पाकिस्तान र न्युजिल्यान्डसँग पराजित भएपछि प्रतियोगिताको समूह १२ बाटै बाहिरिएको थियो ।

बट्लरको मास्टरक्लास

इङ्ल्यान्डले सुपर १२ का पहिलो चार खेलमा लगातार चार जित हासिल गर्दा जोस बट्लरको प्रदर्शन उत्कृष्ट थियो । श्रीलंकामाथि २६ रनको जित हासिल गरेको खेलमा बट्लरले विश्वकपको पहिलो सतक प्रहार गरेका थिए ।

बट्लरको अविजित एक सय एक रन प्रेरणामा इङ्ल्यान्डले चार विकेटको क्षतिमा एक सय ६३ रन बनाएको थियो । बट्लरले ६७ बलको व्यक्तिगत इनिङमा ६ चौका र चार छक्का प्रहार गरेका थिए । त्यही इनिङपछि उनी सबै तीन स्वरुपको क्रिकेटमा सतक बनाउने सफलता प्राप्त गरेका थिए ।

हसरंगा, एक स्टारको जन्म

यसपालीको प्रतियोगितामा सुपर १२ बाटै बाहिरिए पनि युवा खेलाडीले भरिपूर्ण श्रीलंकाले आफूलाई अर्को वर्ष अस्ट्रेलियामा हुने विश्वकपको उपाधि दाबेदारका रुपमा प्रस्तुत गर्यो ।

श्रीलंकाको समग्र प्रदर्शनमा लेग स्पिनिङ अलराउन्डर वानिन्दु हसरंगाले सनसनीपूर्ण प्रदर्शनका साथ समर्थकको ध्यान ताने । १० भन्दा कमको औसतमा उनले प्रतियोगितामा १६ विकेट लिएका थिए ।

‘हसरंगा एक जना विशेष क्रिकेटर हुन्’ श्रीलंकाका मुख्य प्रशिक्षक मिक्की आर्थरको भनाई थियो ।

विन्डिज पुश्ताको अन्त्य

ड्वायन ब्राभोले अन्तर्राष्ट्रिय करियरमा विश्वकप सुपर १२ को आफ्नो अन्तिम खेलसँगै पूर्णविराम लगाए । ब्राभोसँग अर्का भेट्रान क्रिस गेल पनि जोडिने पक्का छ । ब्राभोले संन्यास घोषणा गरिसकेपछि गेल पनि उनीसँग जोडिने जानकारी भएका वेस्ट इन्डिजका कप्तान किरन पोलार्डले त्यसलाई एउटा पुश्ताको अन्त्यका रुपमा वयान गरे ।

साविक विजेता वेस्ट इन्डिज सुपर १२ को आफ्नो अन्तिम खेलमा अस्ट्रेलियासँग आठ विकेटले पराजित भएको थियो । जुन सुपर १२ का पाँच खेलमा वेस्ट इन्डिजको चौथो हार थियो ।

३८ वर्षे ब्राभो र ४२ वर्षका गेल दुवै वेस्ट इन्डिजले २०१२ र २०१६ मा ट्वान्टी २० विश्वकप जित्दाको टिमका मुख्य खेलाडी थिए । अबुधाबीमा अस्ट्रेलियाली खेलाडीले पनि यी दुई भेट्रानलाई गार्ड अफ अनर दिएका थिए ।

अस्पतालको बेडदेखि सेमिफाइनलसम्म रिजवानको यात्रा

अस्ट्रेलियासँग पराजित भएको सेमिफाइनलमा ६७ रनको उच्च स्कोर गरेका पाकिस्तानका मोहम्मद रिजवान दुई दिन अस्पतालको आइसियुमा उपचार गराएर अन्तिम चारको खेलका लागि मैदान उत्रिएका थिए । छातीमा इन्फेक्सन भएपछि उनलाई अस्पताल भर्ना गर्नु परेको थियो ।

‘मोहम्मद रिजवानलाई छातीमा असहय पीडा भएपछि अस्पताल भर्ना गरिएको थियो । उनी दुई रात आइसियुमा उपचार गरेर ठिक भएका हुन्,’ पाकिस्तानका टिम डाक्टर नजीब सोमरोले भने, ‘उनको स्वास्थ्यमा नाटकीय सुधार भयो । खेलअघि नै उनी राम्ररी ठिक भए । देशका लागि खेल्ने कुरामा उनको प्रतिबद्धता हामी सबैले देख्यौं ।’

कोनवेको मूर्खतापूर्ण बर्हिगमन

न्युजिल्यान्डका ब्याटर डेभोन कोनवे दायाँ हात भाँचिएका कारण अस्ट्रेलियाविरुद्धको फाइनलमा मैदान उत्रिन सकेनन् ।

इङ्ल्यान्डविरुद्धको सेमिफाइनलमा ४६ रन बनाएपछि आउट हुँदा निराशामा आफ्नै ब्याटमा हान्दा उनको हात भाँचिएको थियो । त्यही कारण उनी फाइनलमा मैदान उत्रिन सकेनन् ।

‘पक्कै पनि यो उनको बुद्धिमतापूर्ण काम थिएन,’ न्युजिल्यान्डका प्रशिक्षक ग्यारी स्टिडले भनेका थिए ।

अस्ट्रेलियाको लामो प्रतिक्षामा पूर्णविराम

मिचेल मार्सले अविजित ७७ रन बनाएपछि अस्ट्रेलियाले न्युजिल्यान्डलाई आठ विकेटको नतिजामा निराश पार्दै पहिलो पटक ट्वान्टी २० विश्वकपको उपाधि उचाल्यो । जसलाई कप्तान आरोन फिन्चले ठूलो उपलब्धिका रुपमा वयान गरे ।

जितका लागि एक सय ७३ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाका मार्स र म्यान अफ दी सिरिज डेविड वार्नरले दोस्रो विकेटका लागि ९२ रनको साझेदारी गरेका थिए । वार्नरले उक्त खेलमा ५३ रन बनाएका थिए । वार्नर आउट भएपछि पनि मार्सको ब्याट आक्रामक रुपमा चलिरहँदा दुबईमा सात बल बाँकी रहँदै अस्ट्रेलियाले जित हासिल गरेको थियो ।

एकदिवसीय विश्वकपमा पाँच पटक उपाधि जितिसकेको अस्ट्रेलियाले २० ओभरको विश्वकप जितेको यो पहिलो पटक हो ।

टस हारेर पहिला ब्याटिङलाई निम्त्याइएको न्युजिल्यान्डका लागि कप्तान केन विलियम्सनले ८५ रनको इनिङ खेले । दुबई अन्तर्राष्ट्रिय रंगशालामा भएका १३ खेलमध्ये १२ मा पहिला बलिङ गर्ने टिमले जित हासिल गरेको थियो ।