कतार विश्वकप २०२२

ब्राजिलविरुद्ध टोलीको नेतृत्व लिन मेसी तयारः स्कोलोनी


ब्युनस आयर्स । विश्वकप छनोटअन्तर्गत ब्राजिलविरुद्धको खेलमा अर्जेन्टिनी कप्तान लियोनल मेसी नेतृत्व लिन तयार रहेको टोलीका प्रशिक्षक लियोनल स्कालोनीले पुष्टि गरेका छन् ।

यी दुई प्रतिद्धन्द्धी जुनमा भएको कोपा अमेरिकाको फाइनलपछि पहिलो पटक बुधबार एकआपसविरुद्ध मैदान उत्रन लागेका हुन् । अर्जेन्टिनाको स्टाडियो सान जुअनमा हुने खेल नेपाली समयअनुसार बिहान ५ः१५ बजेदेखि सुरु हुनेछ । 

इङ्लिस प्रिमियर लिगमा सहभागी अर्जेन्टिनी खेलाडीले ब्राजिल भ्रमण दौरान कोेभिड सम्बन्धी मापदण्ड पालना नगरेको भन्दै सेप्टेम्बरमा यी दुई टोलीबीचको खेल सात मिनेट पछि नै स्थगित भएको थियो ।

‘मेसी बुधबार हुने ब्राजिलविरुद्धको खेलमा मैदान उत्रने छन्,’ स्कालोनीले भने, ‘अहिलको समयमा ब्राजिलियन टोली एक उत्कृष्ट टोली हो । उनीहरुले विश्वकपमा आफ्नो स्थान पक्का गरिसकेका छन् । हामीलाई थाहा छ ब्राजिलविरुद्धको खेल कति कठिन हुनेछ भन्ने ।’

मेसीले टोलीको नेतृत्व सम्हाल्ने भएसँगै यसअघि उनको स्थानमा मैदान उत्रिएका पाउलो डिबाला बेन्चमा बस्ने भएका छन् । डिबालालाई उरुग्वेविरुद्धको खेलमा पहिलो हाफमा परिवर्तन गरिएको थियो । स्कालोनीले डिबालालाई चोटका कारण परिवर्तन गरिएको बताएका थिए ।

यी दुई टोलीबीच हालसम्म एक सय आठ पटक प्रतिस्पर्धा भएको छ । जसमध्ये ब्राजिलले ४२ खेल आफ्नो पक्षमा पार्दा अर्जेन्टिनाले ४१ खेलमा जित निकालेको छ । यी दुई टोलीबीचको २५ खेल बराबरीमा टुगिंएको छ ।

विश्वकपको दक्षिण अमेरिकी छनोटको शीर्ष स्थानमा रहेको ब्राजिलले यसअघि नै अर्को वर्ष कतारमा हुने विश्वकपको टिकट काटिसकेको छ । ब्राजिलले १२ खेलबाट ३४ अंक जोडेको छ ।

त्यस्तै तालिकाको दोस्रो स्थानमा रहेको अर्जेन्टिनाले १२ खेलबाट २८ अंक जोडेको छ ।

ब्राजिल र अर्जेन्टिना दुबै विश्वकप छनोटमा हालसम्म अपराजित छन् । त्यस्तै अर्जेन्टिना पछिल्लो २६ खेलदेखि अपराजित रहेको छ ।