ट्वान्टी २० विश्वकप

क्रिकेटबाट अलग्गिने निर्णयमा पुगेका निसममा फर्किएको स्वभाविक लय

दुबई । सन् २०१७ मा न्युजिल्यान्डको एकदिवसीय टोलीमा नपरेपछि अलराउन्डर जिम्मी निसमले क्रिकेटबाटै टाढा हुने संघारमा थिए । 

तर अहिले चार वर्षपछि उनै निसम सयुक्त अरब इमिरेट्स (युएई) भइरहेको आइसिसी ट्वान्टी २० विश्वकपमा न्युजिल्यान्डलाई फाइनलसम्म डोहोर्याउने नायक बने ।

बुधबार भएको पहिलो सेमिफाइनलमा इङ्ल्यान्डविरुद्ध रोमाञ्चक जितका साथ फाइनलमा स्थान पक्का गर्नु निसम र न्युजिल्यान्ड दुबैका लागी ऐतिहासिक क्षण थियो । ट्वान्टी २० विश्वकपमा न्युजिल्यान्ड पहिलो पटक फाइनलमा प्रवेश गरेको हो ।

सेमिफाइनलमा एक सय ६७ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डबाट मात्र ११ बलमा २७ रन बनाउँदै टोलीका लागी जितको बाटो तय गरेका निसमले ७२ रनमा अविजित रहेका डार्यल मिचेलले विजयी बाउन्ड्री प्रहार गर्दा समेत खुुसी मनाएनन् ।

निसमको उक्त अवस्थाको फोटो सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो । जसलाई इएसपीएन क्रिकइन्फोले ‘जिम्मी निसम मच्चिएनन्’ भन्ने क्याप्सनसहित सामाजिक सञ्जालमा पोस्ट गरेको थियो । यसमा निसमले क्रिकइन्फोको पोस्ट सेयर गर्दै ‘काम सकियो ? अरु केहि सोचिएन’ भन्ने जवाफ फर्काएका थिए ।

न्युजिल्यान्डले विश्वकपको फाइनलमा आइतबार अस्ट्रेलियाविरुद्ध प्रतिस्पर्धा गर्ने पक्का भइसकेको छ । यसमा सबैको ध्यान ३१ वर्षिय निसममा हुनेछ, जसले न्युजिल्यान्डलाई सन् २०१९ को एकदिवसीय विश्वकपको उपाधि नजिक डोहोर्याएका थियो ।

बायाँहाते ब्याटर तथा मिडियम पेस बलर निसमले २०१९ को विश्वकपको रोमाञ्चक फाइनलको सुपर ओभरमा पाँच बलमा १३ रन प्रहार गरेका थिए, जसको उपाधि इङ्ल्यान्डले बाउन्ड्रीका आधारमा जितेको थियो । त्यसअघि निसमले तीन विकेट लिएका थिए र सुपर ओभर पनि बराबर हुनुपूर्व अन्तिम बलमा दुई रनका लागी दौडिएका थिए ।


खेलकुद, एक ठुलो शिक्षक

उनलाई न्युजिल्यान्ड क्रिकेट खेलाडी संघका अध्यक्ष हेथ मिलले संन्यासको बारेमा तत्काल कुनै निर्णय नलिन बरु केही समय खेलबाट विश्राम लिन सल्लाह दिएका थिए ।
सन् २०१७ को च्याम्पियन्स ट्रफीपछि ११ खेलमा एक अर्धशतक र चार विकेट मात्र लिएपछि निसम न्युजिल्यान्डको टोलीमा अटाउन सकेका थिएनन् ।

निसमले उक्त घटनापछि आफू निकै तनाबमा रहेको र अकल्यान्डमै रहेका मनोविज्ञ पाउदा डेनानसँग मनोपरामर्श लिएको सार्वजनिक गरेका थिए ।

निसम बुधबारको सेमिफाइनलमा न्युजिल्यान्ड चार विकेट गुमाएर एक सय सात रनमा सघर्ष गरिरहेको अवस्थामा मैदान प्रवेश गरेका थिए र क्रिस जोर्डनको १७औं ओभरमा दुई छक्का र एक चौका प्रहार गरेसँग उपाधि दाबेदार इङ्ल्यान्ड पराजयतर्फ उन्मुख भएको थियो ।

खेलपछि टोलीका कप्तान केन विलियम्सनले निसमको इनिङ खेलको ‘निर्णायक क्षण’ भएको बताएका थिए ।

‘सन् २०१७ मा जिम्मी निसमले क्रिकेटबाट सन्यास लिने सोचेका थिए र आज इङ्ल्यान्डविरुद्ध जित निश्चित गर्ने इनिङ खेले, पूर्व भारतीय ब्याटर भिभिएस लक्ष्मणले ट्विटरमा लेखेका थिए ।’

सन् २०१२ मा दक्षिण अफ्रिकाविरुद्धको ट्वान्टी २० खेलबाट डेब्यु गरेका निसमले न्युजिल्यान्डबाट १२ टेस्ट, ६६ एकदिवसीय र ३५ ट्वान्टी २० खेल खेलका छन् ।