सहिद स्मारक लिग

दशरथ रंगशालमा पूर्ण क्षमतामा दर्शक, पोखरामा पाँच देखी ६ खेल

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंसिर तीन गतेदेखी शुरु हुने शहिद स्मारक ‘ए’ लिगको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

एन्फाले शुक्रबार पत्रकार सम्मेलन गर्दै लिगका खेलहरुमा पूर्णक्षमतामा दर्शक प्रवेश गराउने जनाएको छ । 

एन्फाले दशरथ रंगशालामा भिआईपी प्याराफिटतर्फ टिकट पाँच सय  र साधारण प्याराफिटतर्फ टिकट एक सय मुल्य राखेको छ ।

लिग अन्तर्गत प्रत्येक शुक्रबार र शनिबार दशरथ रंगशालमा दुई दुई खेल हुनेछ । जसअन्तर्गत पहिलो खेल एक बजे हुनेछ भने दोस्रो खेल साढे चार बजे हुनेछ ।

त्यस्तै एन्फाले सबै क्लबहरु सहमत भए पाँच देखी ६ वटा खेल मनाङ मरस्याङ्दीको घरेलु मैदानको रुपमा रहेका पोखरा रंगशालामा गर्ने तयारी भइरहेको पनि जनाएको छ ।

‘क्लबहरुसँग पोखरामा केही खेलहरु खेलाउने बारे छलफल भइरहेको छ । मनाङले आफ्नो ६ खेल पोखरामा राखिदिन आग्रह गरेको छ’, एन्फा महासचिव इन्द्रमान तुलाधरले भने, ‘मानाङको मात्र खेल सम्भव नभए हामी करिब दुई चरणका खेलहरु पोखरामा गराउने तयारीमा पनि छौ ।’

लिगमा त्रिभुवन आर्मी फुटबल क्लब, एपिएफ फुटबल क्लब, मछिन्द्र फुटबल क्लब, संकटा फुटबल क्लब, नेपाल पुलिस फुटबल क्लब, हिमालयन शेर्पा फुटबल क्लब, सातदोबाटो फुटबल क्लब, मनाङ मर्स्याङदी फुटबल क्लब, थ्रि स्टार फुटबल क्लब, एनआरटी फुटबल क्लब, फ्रेन्डस फुटबल क्लब, च्यासल युथ क्लब, जावलाखेल युथ क्लब र बिग्रेड ब्वाइज फुटबल क्लबगरी १४ टोलीको सहभागिता रहने छ ।

प्रतियोगितामा लिग तालिकाको पुछारमा रहने दुई टोली रेलिगेशमा पर्नेछन् ।

लिगको उद्घाटन खेलमा सातदोबाटो युथ र फ्रेन्डस् फुटबल क्लबबीच हुने तालिका रहेको छ ।