ट्वान्टी २० विश्वकप

पाकिस्तानको गतिमा ब्रेक लगाउँदै अस्ट्रेलिया फाइनलमा

दुबई । म्याथु वेडले १९औं ओभरका पछिल्ला तीन खेलमा लगातार तीन छक्का प्रहार गरेपछि अस्ट्रेलियाले पाँच विकेटको जितका साथ पाकिस्तानको अपराजित यात्रामा पूर्णविराम लगाउँदै बिहीबार ट्वान्टी २० विश्वकपको फाइनलमा स्थान सुरक्षित गरेको छ ।

ओपनर डेविड वार्नरले बनाएको आधारमा मार्कुस स्टोइनिसले ४० तथा वेडले ४१ रनको योगदान गर्दै क्लाइमेक्स दिएपछि अस्ट्रेलिया प्रतियोगिताको दोस्रो सेमिफाइनलमा एक सय ७७ रनको लक्ष्य पाँच विकेटको क्षतिमा हासिल गर्न सफल भएको थियो ।

पाकिस्तानी बलरहरुले राम्रो सुरुआत गरेको खेलमा अस्ट्रेलियाले कप्तान आरोन फिन्चलाई पहिलो बलमै गुमाएको थियो । स्टेभन स्मिथ (५) र ग्लेन म्याक्सवेल (७) ले पनि गतिलो योगदान गर्न सकेका थिएनन् ।

तर वार्नरले ३० बलमा तीन चौका र तीन छक्कासहित ४९ रनको सानदार इनिङ खेल्दै अस्ट्रेलियाको विजय आधार बनाएका थिए । जसमा मिचेल मार्सले २२ बलमा तीन चौका र एक छक्कासहित २८ रन थपे ।

वार्नर र मार्सले बनाएको आधारलाई जितको क्लाइमेक्स भने स्टोइनिस र वेडले दिए । आक्रामक ब्याटिङ गरेका वेडले १७ बलमा दुई चौका र तीन छक्का प्रहार गरे भने स्टोइनिसले ३१ बलमा दुई चौका र दुई छक्का प्रहार गरेका थिए ।

पाकिस्तानका साडब खानले चार ओभरमा २६ रन खर्चेर चार विकेट लिँदै टोलीलाई फाइनल पुर्याउने संकेत गरेका थिए । साहिन शाह अफ्रिदीले एक विकेट लिएर साडबलाई सघाए । तर कुनै पनि स्वरुपको विश्वकपको नकआउट खेलमा अस्ट्रेलियालाई पहिलो पटक हराउन पाकिस्तानका लागि त्यो पर्याप्त भएन ।

यसअघि ओपनर मोहम्मद रिजवान र फखर जमानको अर्धशकतप्रेरित पाकिस्तानले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै एक सय ७६ रन बनाएको थियो ।

टस हारेर ब्याटिङका लागि आएको पाकिस्तानका लागि जमानले अविजित ५५ रन बनाए । ओपनर तथा कप्तान बाबर आजम र मोहम्मद रिजवानले पहिलो विकेटका लागि ७१ रनको साझेदारीका साथ उत्कृष्ट सुरुआत दिलाएका थिए ।

रिजवानले ६७ रन बनाए । उनले ५२ बलमा तीन चौका र चार छक्का प्रहार गरे । बाबरले ३९ रन बनाए । बाबरले ३४ बलमा पाँच चौका प्रहार गरे ।

आइतबार दुबईमा हुने फाइनलमा अस्ट्रेलियाले छिमेकी न्युजिल्यान्ढसँग प्रतिस्पर्धा गर्नेछ । न्युजिल्यान्डले बुधबार उच्च फर्ममा रहेको अर्को प्रतिद्वन्द्वी इङ्ल्यान्डलाई यस्तै सनसनीपूर्ण खेलमा पाँच विकेटले नै पराजित गरेको थियो ।