ट्वान्टी २० विश्वकप

उत्कृष्ट लयको निरन्तरतासहित फाइनल प्रवेश लक्ष्यमा पाकिस्तान

दुबई । पाकिस्तानले हालसम्म अस्ट्रेलियाविरुद्ध हालसम्म आइसिसी प्रतियोगिताको नकआउट चरणको कुनै पनि खेल जित्न सकेको छैन । 

एरोन फिन्चको कप्तानीमा रहेको अस्ट्रेलिया ट्वान्टी २० विश्वकपको दोस्रो सेमिफाइनलमा बिहिबार मैदान उत्रदा पाकिस्तानविरुद्ध सोही इतिहास कायम राख्न चाहन्छ ।

यद्धपी विश्व क्रिकेटमा अलग्गै पहिचान स्थापित गराइरहेका बाबर आजमको कप्तानीमा रहेको पाकिस्तानमाथी सोही दबदबा कायम राख्न अस्ट्रेलियाको लागी निकै कठिन हुनेछ ।

बलिङमा साहिन शाह अफ्रिदी तथा ह्यारिस रौफ तथा ब्याटिङमा कप्तान आजम, मोहमद रिजवानको ओपनिङ जोडी तथा सोयब मलिक तथा अशिफ अलिको आक्रामक प्रकृतीले पाकिस्तानले हालसम्म उत्कृष्ट लयलाई निरन्तरता दिएको छ । प्रतियोगितामा शतप्रतिशत नतिजासहित सेमिफाइनलमा स्थान बनाउने पाकिस्तान एकमात्र टोली हो ।

त्यस्तै अस्ट्रेलिया सुपर १२ को पाँच खेलमध्ये चारमा विजयी र एकमा पराजित भएको थियो ।

यी दुई टोलीबिच हालसम्म २२ ट्वान्टी २० खेल भएका छन् । जसमा पाकिस्तानले १३ खेलमा जित निकाल्दा अस्ट्रेलियाले ९ खेल आफ्नो पक्षमा पारेको छ ।

ट्वान्टी २० विश्वकपमा भने यी दुई टोलीबीच ६ पटक प्रतिस्पर्धा हुँदा दुबै टोलीले समान तीन खेल आफ्नो पक्षमा पारेका छन् ।

सयुक्त अरब इमिरेट्स (युएई) को दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेबाट सुरु हुनेछ । 
यसअघि बुधबार भएको पहिलो सेमिफाइनलमा न्युजिल्यान्डले इङ्ल्यान्डलाई हराउँदै फाइनलमा स्थान पक्का गरिसकेको छ ।