ट्वान्टी २० विश्वकप

भारतीय ड्रेसिङ रुमको खराब वातावरणका कारण विराटले कप्तानी छोडेः अहमेद

इस्लामबाद । पूर्व पाकिस्तानी क्रिकेटर मुस्ताक अहमेदले भारतीय कप्तान विराट कोहलीले ट्वान्टी २० क्रिकेटबाट कप्तानी छाड्नुले टोलीको ड्रेसिङ् रुमको अवस्था ठिक नरहेको प्रष्ट पारेको बताएका छन् ।

‘एक सफल कप्तान आफूले कप्तानी छोड्न चाहेको बताउँछ भन्नुको अर्थ टोलीको ड्रेसिङ् रुमको वातावरण राम्रो छैन भन्ने बुझिन्छ । म अहिले भारतीय टोलीको ड्रेसिङ् रुममा दुई समूह देख्दै छु । एक मुम्बई र दोस्रो दिल्ली,’ अहमेदले भने, ‘भारतीय टोलीले इन्डियन प्रिमियर लिग (आइपिएल) कै कारण विश्वकपमा निराशजनक नतिजा आत्मसाथ गर्नुपरेको हो । विश्वकप अघि टोलीका खेलाडी लगातार बायो बबलमा रहेका कारण थकित भएको देखिन्थे ।’

विराट कोहलीले ट्वान्टी २० विश्वकप सुरु हुन अगावै विश्वकपपछि कप्तानी पद छाड्ने घोषणा गरेका थिए । 

विश्वकप अन्तर्गत सोमबार नामिबियाविरुद्ध सुपर १२ को खेल उनका लागि कप्तानका रुपमा अन्तिम खेल रह्यो ।

भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले नोभेम्बर १७ बाट सुरु हुने तीन ट्वान्टी२० खेलको शृंखलाका लागि रोहित शर्मालाई  कप्तानी जिम्मेवारी सुम्पिसकेको छ ।