ट्वान्टी २० विश्वकप

अफगानिस्तानलाई हराउँदै न्युजिल्यान्ड सेमिफाइनलमा, भारत बाहिरियो

अबुधाबी । अफगानिस्तानमाथि आठ विकेटको जित हासिल गर्दै न्युजिल्यान्डले आइतबार ट्वान्टी २० विश्वकपको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।

सुपर १२अन्तर्गत समूह दुईको निर्णायक खेलमा अफगानिस्तानलाई एक सय २४ रनमा रोकेको न्युजिल्यान्डले दुई विकेटको क्षतिमा एक सय २५ रन बनाउँदै लक्ष्य हासिल गरेर अन्तिम चारको टिकट काट्यो ।

न्युजिल्यान्डको जितसँगै संयुक्त अरब इमिरेट्समा जारी विश्वकपको सेमिफाइनल पुग्ने सबै चार टोलीको टुंगो लागेको छ । समूह दुईबाट यसअघि नै चार खेलमा सतप्रतिसत नतिजाका साथ आठ अंक जोडेर पाकिस्तानले सेमिफाइनलको यात्रा पक्का गरिसकेको छ ।

पाकिस्तानले समूहको अन्तिम खेलमा अहिले केहीबेरमा सारजहाँमा स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । पाकिस्तानले उक्त खेलमा जित हासिल गरे विजेताको हैसियतका साथ अन्तिम चारमा अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ ।

यसैगरी शनिबार समूह एकबाट पनि सेमिफाइनल पुग्ने दोस्रो टोलीको टुंगो लागेको थियो । इङ्ल्यान्ड एक खेल अगाडि नै सेमिफाइनल पुगिसकेको थियो भने शनिबार समूह चरणको अन्तिम दिन अस्ट्रेलियाले पनि अन्तिम चारको यात्रा पक्का गरेको थियो ।

आइतबारको जितपछि न्युजिल्यान्डले आठ अंक जोडेको छ । सेमिफाइनल पुग्नका लागि अर्काको नतिजा प्रतिक्षा गरिरहेको भारतले चार खेलबाट चार अंकमात्र जोडेको छ । त्यसैले भारतका लागि भोली नामिबियाविरुद्ध हुने खेल औपचारिकतामा सीमित हुनेछ ।

आइतबारको निर्णायक खेलमा टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानको सुरुआत अत्यन्तै कमजोर रहेको थियो । १९ रन बनाउँदा तीन विकेट गुमाइसकेको टोलीका दुवै ओपनर मोहम्मद सहजाद (४) र रहमानुल्लाह गुरबाज (६) सस्तैमा पवेलियन फर्किए । आशा गरिएका अर्का ब्याट्सम्यान गुलबदिन नाइब पनि १८ बलमा एक चौकासहित १५ रन बनाउँदा इश सोधीको बलमा बोल्ड भए ।

कप्तान मोहम्मद नाबीले २० बल खेलेर १४ रनमात्र बनाए । तर नाजिबुल्लाह जादरानले ७३ रनको सनसनीपूर्ण इनिङ खेल्दै अफगानिस्तानलाई १२४-८ को सम्मानजनक स्कोरतर्फ डोर्याएका थिए । ४८ बल सामना गरेका जादरानले ६ चौका र तीन छक्का प्रहार गरेका थिए ।

न्युजिल्यान्डका ट्रेन्ट बोल्टले तीन विकेट लिए भने टिम साउथीले दुई तथा एडम मिल्ने, इश सोधी र जेम्स निसमले एक/एक विकेटमा नाम लेखाए ।

चार ओभर बलिङ गरेका बोल्टले १७ रन खर्चिए भने साउथीले चार ओभरमा २४ रन खर्चिएका थिए ।

जवाफमा न्युजिल्यान्डले निर्धारित २० ओभरको ११ बल अघि नै दुई विकेटको क्षतिमा एक सय २५ रन बनाएर जित हासिल गर्यो ।

न्युजिल्यान्डका लागि कप्तान केन विलियम्सनले अविजित ४० तथा डेभोन कनवेले अविजित ३६ रनको योगदान गरे । विलियम्सनले ४२ बलमा तीन चौका प्रहार गरेका थिए भने कनवेले ३२ बलमा चार चौका हाने ।

यसैगरी ओपनर मार्टिन गप्टिलले २३ बलमा चार चौकासहित २८ रन बनाउँदा डारिल मिचेलले १२ बलमा तीन चौकासहित १७ रनको योगदान गरे ।

अफगानिस्तानका मुजिब उर रहमान र रासिद खानले एक/एक विकेट लिए ।