ट्वान्टी २० विश्वकप

निर्णायक खेलमा न्युजिल्यान्डलाई एक सय २५ रनको लक्ष्य

अबुधाबी । ट्वान्टी २० विश्वकपको सेमिफाइनल यात्रा पक्का गर्नका लागि निर्णायक खेलमा न्युजिल्यान्डले आइतबार अबुधाबीमा अफगानिस्तानलाई एक सय २४ रनमा रोकेको छ ।

सुपर १२ को समूह दुईमा चार खेलबाट ६ अंक जोडेको न्युजिल्यान्ड आजको खेलमा विजयी भए टोलीको अन्तिम चार यात्रा पक्का हुनेछ । समूहबाट पछिल्ला सबै चार खेल जितेको पाकिस्तान आठ अंकका साथ सेमिफाइनल पुगिसकेको छ ।

आजको खेलमा न्युजिल्यान्ड पराजित भएमा भने भारतको सेमिफाइनल यात्राको सम्भावना ब्युतिनेछ । सुरुका दुई खेलमा चिर प्रतिद्वन्द्वी पाकिस्तान र न्युजिल्यान्डसँग पराजित भएपछि भारतको सेमिफाइनल प्रवेश सम्भावना पातलिएको थियो । तर आज अफगानिस्तानले न्युजिल्यान्डलाई हराएको अवस्थामा भने भारत भोली नामिबियालाई हराएर अगाडि बढ्न सक्छ । तर त्यसका लागि भारतले राम्रो रनरेटमा जित हासिल गर्नुपर्ने हुन्छ ।

आज न्युजिल्यान्ड पराजित भएर भोली भारतले नामिबियालाई हराए समूहमा न्युजिल्यान्ड र भारत दुवैको खातामा समान ६ अंक हुनेछ । त्यसपछि नेट रनरेटमा माथि रहेको टोली समूह दुईबाट दोस्रो टोलीका रुपमा सेमिफाइनल पुग्नेछ ।

आइतबारको निर्णायक खेलमा टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानको सुरुआत अत्यन्तै कमजोर रहेको थियो । १९ रन बनाउँदा तीन विकेट गुमाइसकेको टोलीका दुवै ओपनर मोहम्मद सहजाद (४) र रहमानुल्लाह गुरबाज (६) सस्तैमा पवेलियन फर्किए । आशा गरिएका अर्का ब्याट्सम्यान गुलबदिन नाइब पनि १८ बलमा एक चौकासहित १५ रन बनाउँदा इश सोधीको बलमा बोल्ड भए ।

कप्तान मोहम्मद नाबीले २० बल खेलेर १४ रनमात्र बनाए । तर नाजिबुल्लाह जादरानले ७३ रनको सनसनीपूर्ण इनिङ खेल्दै अफगानिस्तानलाई १२४-८ को सम्मानजनक स्कोरतर्फ डोर्याएका थिए । ४८ बल सामना गरेका जादरानले ६ चौका र तीन छक्का प्रहार गरेका थिए ।

न्युजिल्यान्डका ट्रेन्ट बोल्टले तीन विकेट लिए भने टिम साउथीले दुई तथा एडम मिल्ने, इश सोधी र जेम्स निसमले एक/एक विकेटमा नाम लेखाए ।

चार ओभर बलिङ गरेका बोल्टले १७ रन खर्चिए भने साउथीले चार ओभरमा २४ रन खर्चिएका थिए ।