आइसिसी ट्वान्टी २० विश्वकप

कोहलीको जन्मदिनमा भारतको प्रभावशाली जित, सेमिफाइनल पुग्ने आशा जीवित

दुबई । ८६ रनको लक्ष्य पछ्याउने क्रममा केएल राहुलले १८ बलमा अर्धसतक पूरा गरेपछि भारतले स्कटल्यान्डमाथि आठ विकेटको जित हासिल गर्दै ट्वान्टी २० विश्वकपको सेमिफाइनल पुग्ने गणितीय सम्भावना जीवित राखेको छ ।

टस जितेपछि जन्मदिन मनाइरहेका कप्तान विराट कोहलीले फिल्डिङ रोजेको खेलमा भारतीय बलरहरुले स्कटल्यान्डलाई १७.४ ओभरमा ८५ रनमा रोकेका थिए ।

मोहम्म्द सामी र रविन्द्र जडेजाले तीन÷तीन तथा जसप्रित बुमराले दुई र रविचन्द्रन आश्विनले एक विकेट लिएपछि स्कटिस ब्याटरहरु खुलेर खेल्न सकेनन् । म्यान अफ दी म्याच जडेजाले चार ओभरमा १५ रन खर्चिए भने तीन ओभर बलिङ गरेका सामीले पनि १५ रन खर्चेका थिए । यसैगरी बुमराले ३.४ ओभरमा १० रन खर्चिँदा आश्विन भने तुलनात्मक रुपमा महंगो सावित भए । आश्विनले चार ओभरमा २९ रन खर्चिएका थिए ।

स्क्टल्यान्डका लागि ओपनर जर्ज मुन्सेले बनाएको २४ रन सवभन्दा ठूलो व्यक्तिगत स्कोर थियो । क्रिस ग्रिभ्सले २१ रन बनाए भने कालम म्याकलियोडले १६ तथा मार्क वाटले १४ रन जोडे । स्क्टल्यान्डका अन्य ब्याटरले दोहोरो अंकमा स्कोर गर्न सकेनन् ।

पहिलो दुई खेलमा पाकिस्तान र न्युजिल्यान्डसँग पराजित भएपछि सेमिफाइनल पुग्ने सम्भावना कमजोर बनेको भारतका लागि प्रतियोगितामा अगाडि बढ्ने आशा जीवित राख्नका लागि शुक्रबार स्कटल्यान्डमाथि ४३ बलमा जित हासिल गर्नुपर्ने थियो ।

नेट रनरेटमा अफगानिस्तानलाई पछि पार्दै तेस्रो स्थानका लागि उक्लन ७.१ ओभरमा जित हासिल गर्नुपर्ने अवस्थामा ओपनरद्धय केएल राहुल र रोहित शर्माले सनसनीपूर्ण ब्याटिङ गर्दै भारतलाई आवश्यक नतिजा दिलाए । ८६ रनको लक्ष्य पछ्याएको भारत ६.३ ओभरमै ८९ रन बनाएर जित हासिल गर्न सफल भयो ।

केएल राहुलले १९ बलमा ६ चौका र तीन छक्कासहित ५० रनको इनिङ खेल्दा रोहितले १६ बलमा पाँच चौका र एक छक्कासहित ३० रनको योगदान गरे । कप्तान विराट कोहलीले अविजित दुई रन बनाएको इनिङमा सूर्यकुमार यादवले छक्का प्रहार गर्दै भारतको फराकिलो जित पक्का गरे ।

शुक्रबारको जितपछि सुपर १२ को समूह दुईमा भारत नेट रनरेटमा अफगानिस्तानलाई पछि पार्दै तेस्रो स्थानमा उक्लिएको छ । चार खेलको समाप्तीसम्म सतप्रतिसत जितको यात्रालाई कायम राखेको पाकिस्तान आठ अंकका साथ शीर्ष स्थानमा रहँदा तीन जित हासिल गरेको न्युजिल्यान्ड ६ अंकका साथ दोस्रो स्थानमा छ ।

भारत र अफगानिस्तानको खातामा समान चार अंक भए पनि भारत स्क्टल्यान्डमाथिको प्रभावशाली जितपछि नेट रनरेटमा अगाडि बढेको छ । भारतको रनरेट १.६१९ पुग्दा अफगानिस्तानको १.४८१ छ ।

एक खेलमा जित हासिल गरेको नामिबिया दुई अंकका साथ पाँचौं स्थानमा रहँदा सबै चार खेलमा पराजय भोगेको स्कटल्यान्ड पुछारमा छ ।

समूहबाट पाकिस्तानले सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ । अब भारतले भने सेमिफाइनल पुग्नका लागि न्युजिल्यान्ड आइतबार अफगानिस्तानसँग पराजित भएको देख्न पाउनुपर्नेछ । त्यसपछि सोमबार नामिबियालाई फराकिलो अन्तरमा हराउन सके भारतको अन्तिम चार यात्रा पक्का हुनेछ ।