ट्वान्टी २० विश्वकप

जितसहित सेमिफाइनलको सम्भावना जीवित राख्ने लक्ष्यमा न्युजिल्यान्ड र भारत

दुबई । आइसिसी ट्वान्टी २० विश्वकपमा शुक्रबार ‘ग्रुप टु’ बाट नामिबियाविरुद्ध मैदान उत्रदा न्युजिल्यान्ड जितसहित आफ्नो सेमिफाइनल सम्भावनालाई बलियो पार्ने लक्ष्यमा हुनेछ ।

पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको न्युजिल्यान्डले दोस्रो खेलमा भारतलाई हराएको थियो ।न्युजिल्यान्डले तेस्रो खेलमा स्कटल्यान्डलाई १६ रनले पराजित गरेको थियो । 

‘ग्रुप टु’ बाट चार खेलमा चार जितपछि आठ अंकसहित पाकिस्तान सेमिफाइनल प्रवेश गरिसकेको छ । अफगानिस्तान र न्युजिल्यान्ड समान चार अंकका साथ क्रमश दोस्रो र तेस्रो स्थानमा छ । भारत र नामिबिया समान दुई अंकसहित क्रमशः चौथो र पाँचौ स्थानमा छ । छैटौं स्थानको स्कटल्यान्डले अंक खाता खोल्न सकेको छैन ।

नामिबियाले पहिलो खेलमा स्कटल्यान्डलाई चार विकेटले हराएकाे थियाे भने  दोस्रो खेलमा अफगानिस्तानसँग ६२ रन र तेस्रो खेलमा पाकिस्तानसँग ४५ रनले पराजित भएको थियो ।

सयुक्त अरब इमिरेट्स (युएई) को शारजहा क्रिकेट रंगशालामा हुने खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजेबाट सुरु हुनेछ ।

यसैगरी आजको दोस्रो खेलमा स्कटल्यान्डविरुद्ध प्रतिस्पर्धा गर्दा भारत पनि जितसहित सेमिफाइनल सम्भावनालाई कायम राख्न चाहन्छ ।

भारत पहिलो खेलमा पाकिस्तानविरुद्ध १० र दोस्रो खेलमा न्युजिल्यान्डविरुद्ध आठ विकेटले पराजित भएको थियो । तेस्रो खेलमा भने अफगानिस्तानलाई ६६ रनले पराजित गरेको थियो ।

स्कटल्यान्डले भने कुनै खेल जित्न सकेको छैन ।

दुबई क्रिकेट रंगशालामा हुने यी दुईको खेल साँझ ७ः४५ बजेबाट सुरु हुनेछ ।