ट्वान्टी २० विश्वकप

भारतको पहिला जित, सेमिफाइनल प्रवेश सम्भावना जीवित

दुबई । अफगानिस्तानमाथि ६६ रनको जितका साथ भारतलेआइसीसी ट्वान्टी२० विश्वकपको सेमिफाइनल प्रवेश सम्भावना जीवित राखेको छ । 

भारतले प्रस्तुत गरेको दूई सय ११ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ४४ रन मात्र जोड्न सक्यो ।

अफगानिस्तानका लागि करिम जनतले अविजित ४२ र कप्तान मोहम्मद नाबीले ३५ रन जोडे ।

भारतका मोहम्मद सामी र रविचन्द्रन आस्विनले समान दुई विकेट लिए ।  तीन खेलमा भारतको यो पहिलो जित हो  । 

यसअघि भारतले पहिलो खेलमा पाकिस्तान र दोस्रो खेलमा न्युजिल्यान्डलाई नतिजा सुम्पिएको थियो ।

‘ग्रुप टु’ मा चार खेलमा आठ अंक जोड्दै शीर्ष स्थानमा बसेको पाकिस्तान सेमिफाइनल प्रवेश गरिसकेको छ । 

अफगानिस्तान चार खेलमा चार अंकका साथ दोस्रो, न्युजिल्यान्ड तीन खेलमा चार अंक जोड्दै तेस्रो र भारत तीन खेलमा दुई अंकसहित चौथो स्थानमा छ । पाँचौ स्थानको नामिबियाको पनि दुई अंक छ भने छैटौ स्थानको स्कटल्यान्ड अंकबिहिन छ ।

यसअघि टस हारेर ब्याटिङका लागि आएको भारतले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै दुई सय १० रनको विशाल योगफल खडा गरेको थियो । 

जारी प्रतियोगिताको यो सर्वाधिक ठूलो योगफल हो ।

भारतका लागि ओपनर रोहित शार्माले ७४ र लोकेश राहुलले ६९ रन जोडे । रोहित र लोकेशले पहिलो विकेटका लागि एक सय ४० रनको साझेदारी गरेका थिए ।

त्यस्तै हार्दिक पाण्डेयाले अविजित ३५ रन जोडे ।