ट्वान्टी २० विश्वकप

न्युजिल्यान्डको सेमिफाइनल प्रवेश सम्भावना जीवित

दुबई । आइसिसी ट्वान्टी २० विश्वकप क्रिकेट अन्तर्गत बुधबार स्कटल्यान्डलाई १६ रनले पराजित गर्दै न्युजिल्यान्डले सेमिफाइनल सम्भावनालाई बलियो बनाएको छ ।

न्युजिल्यान्डले प्रस्तुत गरेको एक सय ७३ रनको लक्ष्य पछ्याएको स्कटल्यान्डले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ५६ रन मात्र जोड्न सक्यो ।

स्कटल्यान्डका मिचेल लियस्कले ४२ रन बनाए । त्यस्तै म्याथ्यु क्रसले २७, जर्ज मुन्सेले २२ र रिची म्याकलोडले २० रन जोडे ।

न्युजिल्यान्डका टेर्न्ट बोल्ट र इश सोदीले समान दुई विकेट लिदाँ टिम साउदीले एक विकेट हात पारे ।

सयुक्त अरब इमिरेट्स (युएई) को दुबई अन्तर्राष्टिर्य क्रिकेट मैदानमा टस हारपछि ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले ओपनर मार्टिन गप्टिलले ९३ रनको मद्दतमा निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ७२ रनको योगफल खडा गरेको थियो ।

न्युजिल्यान्डबाट गप्टिलले ५६ बलमा ६ चौका र सात छक्का प्रहार गरे । त्यस्तै ग्लेन फिलिप्सले ३३ र डार्यल मिचेलले १३ रन बनाएका थिए ।

स्कटल्यान्डका ब्रेड विल र सफयान सरिफले दुई÷दुई विकेट हात पार्दा अर्को एक विकेट मार्क वाटको नाममा रह्यो ।

जितपछि तीन खेलबाट चार अंक जोडेको न्युजिल्यान्ड ‘ग्रुप टु’ को तेस्रो स्थानमा छ । समूहमा समान खेलबाट समान अंक जोडे पनि राम्रो नेट रनरेटका साथ अफगानिस्तान दोस्रो स्थानमा छ ।

यता तीन खेलमध्ये तीनै खेल गुमाएको स्कटल्यान्डको सेमिफाइनल सम्भावना सकिएको छ ।

‘ग्रुप टु’ बाट चार खेलमा शतप्रतिशत जित निकालेको पाकिस्तानले यसअघि नै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।