ट्वान्टी २० विश्वकप

शतप्रतिशत जित यात्राका साथ पाकिस्तान सेमिफाइनल

दुबई । नामिबियालाई ४५ रनले पराजित गर्दै पाकिस्तान आइसीसी ट्वान्टी२० विश्वकपको सेमिफाइनल प्रवेश गरेको छ ।

प्रतियोगितामा पाकिस्तानको यो लगातार चौथो जित हो । पाकिस्तान ‘ग्रुप टु’ मा आठ अंकसहित शीर्ष स्थानमा छ ।

पाकिस्तानले प्रस्तुत गरेको एक सय ९० रनको लक्ष्य पछ्याएको नामिबियाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ४४ रन मात्र बनायो ।

नामिबियाका क्रायग विलियम्सले सर्वाधिक ४० रन जोडे । 

पाकिस्तानका हसन अली, इमाद वासिम, सडाब खान र ह्यारिस रौफले समान एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले ओपनर तथा कप्तान बाबर आजम र मोहम्मद रिजवानको शतकिय साझेदारीमा निर्धारित २० ओभरमा दुई विकेट क्षतीमा एक सय ८९ रनको योगफल खडा गरेको थियो ।

बाबर र रिजवानले पहिलो विकेटका लागि एक सय १३ रनको साझोरी गरेका थिए । रिजवानले ७९ र बाबरले ७० रन जोडे । मोहम्मद हाफिजले अविजित ३२ रन जोडे ।