ट्वान्टी २० विश्वकप

इङ्ल्यान्ड सेमिफाइनलमा, श्रीलंका बाहिरियो

 

दुबई । ओपनर जस बट्लरको शतकप्रेरित इङ्ल्यान्डले लगातार चौथो जितका साथ आइसीसी ट्वान्टी२० विश्वकप क्रिकेटको सेमिफाइनलमा स्थान पक्का गरेको छ ।

१२ टोली सहभागी सुपर १२ का टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । दुवै समूहमा समान ६ टोली छन् । दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । 

चार खेलमा शतप्रतिशत नतिजापछि ग्रुप वानमा  ८ अंक जोड्दै  इङ्ल्यान्ड शीर्ष  स्थान पक्का गर्दै जारी प्रतियोगिता सेमिफाइनल प्रवेश गर्ने पहिलो टोली बन्यो ।

समान चार अंकका साथ अस्ट्रेलिया र दक्षिण अफ्रिका क्रमशः दोस्रो र तेस्रो स्थानमा छ । समान दुई अंक जोड्दै श्रीलंका र वेस्ट इन्डिज चौथो र पाँचौ स्थानमा छ । छैटौ स्थानको बंगलादेशले अंक खाता खोल्न सकेको छैन ।

यता लगतार तेस्रो हारपछि श्रीलंकाको विश्वकप यात्रा समुह चरणमा सीमित बन्यो । श्रीलंका क्वालफायरबाट सुपर १२ लागि छनोट भएको थियो ।

इङ्ल्यान्डले प्रस्तुत गरेको एक सय ६४ रनको लक्ष्य पछ्याएको श्रीलंका १९ ओभरमा एक सय ३७ रनमा सीमित बन्यो ।

श्रीलंकाका वानिन्डु हसरंगा डी सिल्भाले ३४,भानुका राजापाक्षे र कप्तान धासुन सनकाले समान २६ रन जोडे ।

इङ्ल्यान्डका मोइन अली, अदिल रासिद र क्रिस जोर्डनले समाान दुई विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङका लागि आएको इङ्ल्यान्डले निर्धारित २० ओभरमा चार विकेट क्षतीमा एक सय ६३ रनको योगफल खडा गरेको हो ।

इङ्ल्यान्डका लागि ओपनर बट्लरले शतक पूरा गरे । जारी प्रतियोगितामा शतक पूरा गर्ने बट्लर पहिलो खेलाडी हुन् ।
३५ रन जोड्दा ओपनर जसन रोय, डेविड मालन र जोनी बेयरस्टोलाई गुमाएको इङ्ल्यान्डको इनिङ बट्लर र कप्तान इयोन मोर्गनले चौथो विकेटका लागि एक सय १२ रनको महत्वपूर्ण साझेदारीका साथ उकासेका थिए ।
बट्लरले ६७ बलमा समान ६ चौका र छक्का मद्दतमा अविजित एक सय एक रन प्रहार गरे । मोर्गनले ३६ बलमा एक चौका र तीन छक्का मद्दतमा ४० रन जोडे ।

श्रीलंकाका डी सिल्भाले तीन विकेट लिए ।