ट्वान्टी २० विश्वकप

शोकलाई शक्तिमा बदलेर नायक बनेका आशिफ

दुबई । पाकिस्तानका कुनै पनि ब्याटरले आफ्नो खराब प्रदर्शनपछि त्यति आलोचना खेप्नु परेको छैन, जति आशिफ अलिले खेपे । उनी ट्वान्टी २० विश्वकप खेल्ने पाकिस्तानी टोलीमा परेपछि पाकिस्तानको राष्ट्रिय टेलिभिजनसँगै सामाजिक सञ्चालमा पनि उनको तीव्र आलोचना भएको थियो ।

आफ्नी १८ महिने छोरी नुरा फतिमालाई गुमाएपछि पिचमा  लय भेट्टाउन संघर्ष गरिरहेका थिए । सन् २०१९ को एकदिवसीय क्रिकेट विश्व कपअघि क्यान्सरबाट फतिमाको निधन भएको थियो ।

तर, तीव्र आलोचनाको शिकार भए पनि मौन रहेका आशिफले जारी ट्वान्टी २० विश्व कपमा न्युजिल्यान्ड र अफगानिस्तानविरुद्ध म्याच विनिङ प्रदर्शन गरे । दुवै टोलीविरुद्ध विजयी छक्का प्रहार गर्दै आफ्नो तीव्र आलोचनाको जवाफ ब्याटमार्फत दिए । शुक्रबार अफगानिस्तानविरुद्ध एक ओभरमा चार छक्का प्रहार गर्दै पाकिस्तानलाई महत्वपूर्ण दुई अंक दिलाउन सहयोग गरेपछि उनै आशिफ पाकिस्तानी हिरो बने । उनले अफगानी बलर करिम जनतले फालेको १९औं ओभरमा चार छक्का प्रहार गर्दै पाकिस्तानलाई पाँच विकेटको जित दिलाएका थिए । जुन न्युजिल्यान्डविरुद्ध हात पारेको पाँच विकेटको जितको दुई दिनपछि थियो ।

अहिले पाकिस्तानको हिरो बनेका आशिफ कुनै समय एक फलाम उद्योगमा मजदूरी गर्थे । तर, उनको जारी विश्व कपमा दुई खेलको प्रदर्शनले पुरानो उखान ‘सुनारको सय प्रहार, लोहारको एक प्रहार बराबर’ भन्ने प्रमाणित गरिदिएको छ ।

पूर्व पाकिस्तानी कप्तान तथा हाल टोलीका मुख्य प्रशिक्षक मिसवाह उल हक पनि आशिफको सफलतामा उत्साहपूर्ण देखिए । ‘म निकै खुशी छु, उनले आफ्नो आलोचनालाई गलत प्रमाणित गरिदिए । र, समर्थकलाई सोच परिवर्तन गर्न बाध्य गराए, उल हकले भने ।

आशिफलाई २०११ मा मिसवाहले नै सिनियर क्रिकेटमा ल्याएका थिए । मिसवाहले २०११ मा पाकिस्तानको राष्ट्रिय सुपर आठ ट्वान्टी २० प्रतियोगितामा फैजलबाद टिमको नेतृत्व सम्हालेका थिए । त्यसै बेला उनले आशिफमा रहेको ‘क्लिन हिटर’ क्षमतालाई देखेर मिसवाले तत्काल उनलाई टोलीमा ल्याएका थिए ।

‘फैजलबादबाट डेब्यू खेलमै शतक प्रहार गरेका आशिफ तत्काल नै सफलता चुमिसकेका थिए,’ उल हकले भने ।

तर, आशिफको अन्तर्राष्ट्रिय करियर भने निकै कठिन रह्यो।  उनको प्रत्येक असफलतामा पनि अन्य खेलाडीलाई भन्दा बढी मौका दिएको भन्दै मिसवाहको पनि उत्तिकै आलोचना भएको थियो ।

‘छैठौं नम्बरमा ब्याटिङ गर्नु निकै कठिन काम हो । सबै टोलीले यस नम्बरमा एक हिटर खोज्ने गर्छन् र म खुशी छु आशिफले आफ्नो स्टारडमअनुसारको प्रदर्शन गरिरहेका छन्,’ मिसवाहले भने । 

अन्तर्राष्ट्रिय करियरमा आशिफको कठिन यात्रा

टोलीका पूर्व कप्तान वसिम अक्रम उर्दू शब्दको प्रयोग गरेर आशिफलाई गिज्याउने समर्थकहरूले केही धैर्यता देखाउनु आवश्यक रहेको बताए ।

‘उनीहरूले आशिफलाई उर्दू शब्द ‘सिफर्सी’, ‘पर्ची’ भन्दै गिज्याउँथे । तर, आशिफले धैर्यता देखाउँदै एक प्रतिभाशाली खेलाडी फेरि आफ्नो लय समात्न सक्छ भन्ने प्रमाणित गरिदिए,’ वसिमले टेलिभिजन कमेट्रिमा भने ।

इस्लामबाद युनाइटेडका दिवंगत पूर्व प्रशिक्षक डेन जोेनेसले पनि आशिफको तारिफ गरेका गरेका थिए ।

‘आशिफ वास्तविक प्रतिभा हुन्,’ जोनेसले २०१८ को पाकिस्तानी सुपर लिग (पिएसएल) को फाइनलपछि भनेका थिए, ‘उनी खेलमा प्रभाव पार्ने खेलाडी हुन्, जो क्षणभरमै खेल परिवर्तन गर्न सक्छन् ।’

फाइनलमा आशिफले ६ बलमा महत्त्वपूर्ण २६ रन जोडेपछि पेशावरलाई पराजित गर्दै इस्लामबाद पिएसएल च्याम्पियन बनेको थियो ।


सन् २०१९ को पिएसएलको पोस्ट म्याच प्रेस कन्फरेन्समा आशिफकी छोरी क्यान्सरसँग लडिरहेको थाहा पाएपछि जोनस भावुक बनेका थिए । जोनसले फतिमाको उपचारका लागि आर्थिक खर्च संकलनसमेत गरेका थिए ।

आशिफ २०१९ को एकदिवसीय विश्वकपमा पाकिस्तानी टोलीको सदस्य थिए । तर, दुई खेलमा १९ रन मात्रै जोडेपछि छनोटकर्ताहरूले आशिफलाई थप मौका दिएनन् ।