ट्वान्टी २० विश्वकप

अस्ट्रेलियाली टोली छनोटप्रति वार्नको असन्तुष्टी

दुबई । अस्ट्रेलियन पूर्वस्पिनर शेन वार्नले ट्वान्टी २० विश्वकप क्रिकेट अन्तर्गत शनिबार इङ्ल्यान्डसँग पराजित भएपछि टिम छनोट र रणनीतिबारे प्रश्न उठाएका छन् ।

‘सन मार्सलाई बाहिर राख्दै टोलीको छनोट गर्नु निराशजनक थियो । इङ्ल्यान्डविरुद्धको पावर प्लेमा ग्लेन म्याक्सवेलको ठाउँमा मार्कुस स्टोइनिस जानु पर्थ्यो,’ वार्नले भने, ‘अस्ट्रेलियाको रणनिती कमजोर देखियो । स्टिभ स्मिथ राम्रा खेलाडी हुन तर उनी ट्वान्टी २० संरचनाका लागि उपयुक्त खेलाडी भने होइनन् । मार्स अस्ट्रेलियाको टोलीमा हुनुपर्थ्यो ।’

स्मिथ यो वर्ष ट्वान्टी २० क्रिकेटमा लय भेट्टाउन संघर्षरत छन् । यो वर्ष उनले सात खेलमा एक सय ५३ रन मात्र जोडेका छन् । स्मिथले २०२० मा नौ ट्वान्टी २० खेलमा दुई सय १७ रन बनाएका थिए ।

ट्वान्टी २० विश्वकप क्रिकेट अन्तर्गत शनिबार राती भएको खेलमा इङ्ल्यान्डले अस्ट्रेलियालाई आठ विकेटले पराजित गरेको थियो ।