ट्वान्टी २० विश्वकप

अफगानको संन्यास

दुबई । अफगानिस्तानका पूर्वकप्तान अजगर अफगानले ट्वान्टी २० विश्वकप क्रिकेटअन्तर्गत आइतबार नामिबियाविरुद्धको खेलपछि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् ।

३३ वर्षिय अफगानले अफगानिस्तानबाट एक सय १४ एकदिवसीय, ७५ ट्वान्टी २० (नामिबियाविरुद्धको समेत) र पाँच टेस्ट खेलेका छन् ।

क्रिकेटका तीनै संरचनामा गरी चार हजार दुई सय १५ रन जोडेका अफगानले एक सय १५ खेलसम्म अफगानी टोलीको कप्तानी सम्हालेका थिए ।

२०१८ मा भारतविरुद्ध टेस्ट क्रिकेटमा डेब्यु गरेको अफगानिस्तानबाट टेस्ट क्रिकेटको कप्तानी सम्हाल्ने अफगान  पहिलो कप्तान हुन् ।

अफगानले ट्वान्टी २० क्रिकेटमा सबैभन्दा धेरै खेल जिताउने कप्तानको कीर्तिमान समेत राखेका छन् । कप्तानको रुपमा अफगानिस्तानलाई ४६ खेल जिताएका अफगानले यसअघि भारतीय कप्तान महेन्द्रसिंह धोनीको नाममा रहेको ४१ खेलको कीर्तिमान तोडेका थिए ।

अफगानले २०१५ देखी २०१९ सम्म पहिलो पटक र २०१९ को डिसेम्बरदेखी मे २०२१ सम्म गरी दुई पटक अफगानिस्तान क्रिकेट टोलीको कप्तानी सम्हालेका थिए ।