काठमाडौं । एसियाली ट्रायल मास्टर च्याम्पियनसिप खेलेर नेपाली टोली मंगलबार स्वदेश फर्किएको छ ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) कार्यकारी समितिकी सदस्य नन्दा बस्याल, नेपाल एडभेन्चर रनिङ महासंघका वरिष्ठ उपाध्यक्ष खत्रीलगायतका पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।
मलेसियाको सबाहमा सेप्टेम्बर १२ देखि १५ तारिखसम्म भएको प्रतियोगितामा नेपालले तीन स्वर्ण र एक कांस्य पदक जितेको महासंघका वरिष्ठ उपाध्यक्ष राजन खत्रीले जनाकारी दिए ।
महिला ७८ किलोमिटरमा प्रिया राईले १० घण्टा ५९ मिनेट ४८ सेकेन्डको समय निकाल्दै स्वर्ण पदक जितेकी थिइन् । सोही स्पर्धामा नेपालकी रशिला तामाङले कांस्य पदक हात पारिन्। रशिलाले निर्धारित दूरी तय गर्न १३ घण्टा १५ मिनेट ९ सेकेन्ड समय लगाइन् ।
महिलामा नेपालबाट पाँच खेलाडीले सहभागिता जनाएका थिए । पदमकुमारी सुनुवार छैटौं, छोकी शेर्पा सातौं र आङ फुर्वा शेर्पा २२औं स्थानमा रहे ।
पुरुष ७८ किलोमिटर दूरीमा नेपालका चार खेलाडीले प्रतिस्पर्धा गरेका थिए । उक्त स्पर्धामा अर्जुन कुलुङराईले १०औं, लोकेन्द्र राईले १४औं, फुर्पासिंह तामाङले २२ औं र मिलन राईले २७औं स्थानमा रहेर दौड टुंगाए ।
समूहमा भने नेपालको पुरुष/महिला दुवै टोलीले स्वर्ण पदक जितेको वरिष्ठ उपाध्यक्ष खत्रीले जानकारी दिए ।