क्रेसिकोभा फ्रेन्च ओपनको सेमिफाइनलमा

पेरिस, (खेलाडी)- कोको गौफलाई ७-६ (८/६), ६-३ को सोझो सेटमा पराजित गर्दै बार्बोरा क्रेसिकोभा फ्रेन्च ओपन टेनिसको सेमिफाइनलमा पुगेकी छन् ।

बुधबार भएको क्‍वार्टरफाइनलमा अमेरिकी किशोरी गौफलाई सोझो सेटमा पराजित गरेकी २५ वर्षीया चेक खेलाडी क्रेसिकोभा पहिलो पटक ग्राण्ड स्लामको सेमिफाइलनमा पुगेकी हुन् ।

गत वर्ष चौथो चरणबाटै बाहिरिएकी क्रेसिकोभाले पहिलो चरणमा क्यारोलिना प्लिस्कोभालाई ५-७, ६-४, ६-२ को नतिजामा पराजित गर्दै प्रतियोगिताको सुरुआत गरेकी थिइन् ।

दोस्रो चरणमा एकाटेरिना अलेक्जान्ड्रोभालाई ६-२, ६-३ को नतिजामा हराएकी क्रेसिकोभाले तेस्रो चरणमा पाँचौं बरियताकी एलिना स्भितोलिनाविरुद्ध ६-३, ६-२ को जित निकालेकी थिइन् ।

चौथो चरणमा अमेरिकी खेलाडी स्लोएन स्टेफन्सलाई ६-२, ६-० को सोझो सेटमा पराजित गर्दै क्रेसिकोभा क्‍वार्टरफाइनलमा आइपुगेकी थिइन् । पाँचौं पटक पटक ग्राण्ड स्लाम टेनिस खेलिरहेकी क्रेसिकोभाले महिला डबलतर्फ २०१८ मा फ्रेन्च ओपनको उपाधि जितेकी थिइन् ।