भेरेभले दिलाए जर्मनीलाई टेनिसको स्वर्ण
टोकियो, (खेलाडी)- जर्मनी स्टार एलेक्जेन्डर भेरेभले आइतबार रुसी ओलम्पिक कमिटीका कारेन खाचनोभलाई सीधा सेटमा हराउँदै जर्मनीका लागि टेनिसमा सन् १९९२ पछि पहिलो ओलम्पिक स्वर्ण पदक दिलाएका छन् ।
आरियाके टेनिस पार्कमा आइतबार सम्पन्न पुरुष एकलको फाइनलमा विश्व नम्बर पाँच भेरेभले रुसी प्रतिद्वन्द्वी कारेनमाथि ६-३, ६-१ को जित निकाल्दै जर्मनीलाई २९ वर्षपछि ओलम्पिकमा स्वर्ण दिलाएका हुन् ।
सेमिफाइनलमा विश्व नम्बर एक नोभाक जोकोभिचलाई स्तब्ध बनाएका भेरेभले फाइनलमा रुसी प्रतिद्वन्द्वीमाथि ७९ मिनेट समयमा नै जित निकाले । ‘मैले अन्य केही पनि सोचेको थिइनँ र म आफ्नो लागि पनि खेलेको होइन । म देशका लागि खेलिरहेको थिएँ,’ ऐतिहासिक जित निकालेपछि भेरेभले भने । उनी एकलतर्फ स्वर्ण जित्ने दोस्रो जर्मन खेलाडी हुन् ।
पछिल्लो पटक सन् १९८८ मा स्टेफी ग्राफले महिला एकलमा स्वर्ण जितेकी थिइन् । त्यसको चार वर्षपछि नै बोरिस बेकर र मिखाइल स्टिचले पुरुष डबल्समा जर्मनीलाई स्वर्ण दिलाएका थिए ।
भेरेभ कयौं पटक ग्रान्ड स्लामको फाइनलमा पुगे पनि अझै पहिलो उपाधिको पर्खाइमा छन् । गत वर्ष युएस ओपनको फाइनलमा डोमिनिक थिमसँग दुई सेटमा अग्रता लिनाका बावजुद उनी ग्रान्ड स्लाम उपाधि जित्न चुकेका थिए । केही हप्ताअगाडि मात्र विम्बल्डनको क्वार्टरफाइनलमा पुगेका कारेनले टोकियोमा लय समात्दै फाइनलसम्मको यात्रा तय गरे पनि उपाधि जित्न भने सकेनन् ।