वरियता टेनिस

एसियन वरियता टेनिस : छात्र युगलको फाइनलमा दुवै नेपाली जोडी

काठमाडौं । १४ वर्ष मुनीको एसियन वरियता टेनिस प्रतियोगितामा छात्र र छात्रा दुवैतर्फ युगलको फाइनल पुग्ने जोडीको टुंगो लागेको छ ।

छात्र युगलको सेमिफाइनलमा नेपालका श्रीयोग अधिकारी र भारतका सिद्धार्थ जिबुको जोडीले नेपालका बोरिस अधिकारी र निसाद जोशीको जोडीलाई ७-६ (४), ४-६, १०-४ हराउँदा दुई नेपाली जोडीबीच भएको प्रतिस्पर्धामा सक्षमविक्रम शाह र दर्शिल श्रेष्ठले श्लोककेशर खड्का र पाकिस्तानका अमिर मुहम्मद खान मजारीको जोडीलाई ६-३, ६-२ को सेटमा हराए ।

छात्रा युगलको सेमिफाइनलअन्तर्गत मंगलबार भएका दुवै खेलमा नेपाली जोडीहरुबीच प्रतिस्पर्धा भएको थियो । समृद्धि महर्जन र आध्या पौडेलको जोडीले शिभाली गुरुङ र प्राज्ना मानन्धरको जोडीलाई ६-१, ६-४ तथा सर्किट एकका च्याम्पियन सुनिरा थापा र प्रशंसा मोक्तानको जोडीले कृषा अधिकारी र अमेरिकाकी नाला जोस्फिन मास्केको जोडीलाई ६-०, ६-१ को सोझो सेटमा हराउदै उपाधि भिडन्त पक्का गरे ।

यसैगरी छात्र एकलको क्वार्टरफाइनलमा जित हासिल गर्दै पाकिस्तानका अमिर मुहम्मद खान मजारी, सर्किट एकका विजेता नेपाली खेलाडी सक्षमविक्रम शाह, नेपालकै दर्शिल श्रेष्ठ र भारतका सिद्धार्थ जिबुले आ-आफ्नो खेल जित्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन् । 

यही स्पर्धाको छात्रातर्फ सर्किट एककी विजेता नेपाली खेलाडी सुनिरा थापा, आध्या पौडेल, प्रशंसा मोक्तान र अमेरिकाकी नाला जोस्फिन मास्केले क्वार्टरफाइनलका प्रतिस्पर्धामा सफलता हासिल गर्दै अन्तिम चारको यात्रा पक्का गरे ।