काठमाडौं । नेपालकी देवकीमाया श्रेष्ठ एसियाली जुडो च्याम्पियनसिपमा मंगोलियन खेलाडी नान्दिन इर्दिने म्यागमारसुरेनसँग पराजित भएकी छन् ।
महिला ५२ केजीमुनिमा उत्कृष्ट प्रदर्शन गर्दै पूरा समय खेलेकी देवकी गोल्डेन स्कोरमा पराजित भएको प्रशिक्षक मोहन सुनुवारले जानकारी दिए । बन्दी सहायता नियोग (पाम) की उत्पादन देवकी विश्व वरीयतामा ३०४औं तथा विश्व च्याम्पियनसिपकी कांस्य पदक विजेता म्यागमारसुरेन ७५औं स्थानमा छन् ।
अप्रिल २५ देखि २७ तारिखसम्म थाइल्यान्डको बैंकमा भएको प्रतियोगितामा देवकीसहित नेपालबाट ६ खेलाडीले सहभागिता जनाएका थिए ।
महिला ५७ केजीमुनिमा ओलम्पियन मनीता श्रेष्ठ प्रधानले पहिलो चरणमा फिलिपिन्सकी खेलाडीलाई हराउँदा दोश्रो चरणमा काजाकिस्तानकी खेलाडीसँग हार बेहोरिन् । महिला ७० केजीमुनिमा भारतीय खेलाडीले रञ्जना खड्कालाई निरास बनाइन् ।
पुरुष ६० केजीमुनिमा विकास विकले तुर्कमिनिस्तानका खेलाडीलाई हराए भने दोश्रो चरणमा बहराइनका खेलाडीसँग पछि परे । ६६ केजीमुनिमा विशेष विक तुर्कमिनिस्तान र ९० केजीमुनिमा विपिन तामाङ भियतनामका खेलाडीसँग पराजित भए ।
नेपाल टोली सोमबार राति १०ः३० बजे काठमाडौं अवतरण गर्ने छ ।