वैशाख ६, २०८२ शनिबार | १८:५३:५८
नुवाकोटमा मुख्यमन्त्री कप राष्ट्रिय महिला फुटबल हुने दिल्लीले दियो गुजरातलाई २०४ रनको लक्ष्य वर्षाका कारण निर्णायक खेल रद्द, अफगानिस्तान विश्वकपमा छनोट मैदानको कभर हट्यो लुम्बिनी कपः गृहजिल्ला बाँकेमा पहिलो पटक खेल्दै निरु एनएसएलमा माथि पुगेका चार टोली यथार्थले घेरिएको रियाल मड्रिड क्रिकेटका स्टुवार्ट लसामु देखिएका चुनौती जनमानसमा पुग्न संघर्षरत रग्बी कहाँ गयो स्टार रोहितको लय ? नुवाकोटमा मुख्यमन्त्री कप राष्ट्रिय महिला फुटबल हुने दिल्लीले दियो गुजरातलाई २०४ रनको लक्ष्य वर्षाका कारण निर्णायक खेल रद्द, अफगानिस्तान विश्वकपमा छनोट मैदानको कभर हट्यो लुम्बिनी कपः गृहजिल्ला बाँकेमा पहिलो पटक खेल्दै निरु एनएसएलमा माथि पुगेका चार टोली यथार्थले घेरिएको रियाल मड्रिड क्रिकेटका स्टुवार्ट लसामु देखिएका चुनौती जनमानसमा पुग्न संघर्षरत रग्बी कहाँ गयो स्टार रोहितको लय ?
शनिबारको दिन

जनमानसमा पुग्न संघर्षरत रग्बी

काठमाडौं । नेपाली खेलकुदमा रग्बी खेल अस्तित्वमा आएको तीन दशक भइसक्यो । तर, यसले नेपाली खेलप्रेमीमाझ आफूलाई सोचे जसरी अझै पुर्याउन सकिरहेको छैन । दर्शक आकर्षित गर्न सकेको छैन ।

रग्बीले आफ्नो सौन्दर्य र महत्व आम जनमानसमा चिनाउन सकेको महसुस गर्न सकिँदैन । नेपाल रग्बी  संघ २०५२ सालमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा ३७औं संघका रूपमा दर्ता भएको थियो । तर, सुरुआती समयमा केही गतिविधि गरेपछि संघ निस्क्रिय बन्यो । जसले गर्दा रग्बीले नेपाली खेलकुदमा खासै आकार लिन सकेन ।

यद्यपि २०६८ सालमा टंकलाल घिसिङको अध्यक्षतामा नेपाल रग्बी संघको पुनर्गठन भएपछि रग्बीले विस्तारै गति लिन थाल्यो । पुनर्गठनपछि रग्बीका गतिविधि विस्तार हुन थाले । घिसिङले राखेपमा सदस्यसचिवका रूपमा कार्यकारी प्रमुखको जिम्मेवारी पाएपछि त झन यो खेलले नेपाली खेलकुदमा देखिने गरी एक्सपोजर पाउँदै गयो ।

 एसिया रग्बी सेभेन्स ट्रफीमा महिलातर्फ प्रतिस्पर्धा गर्दै नेपाल (रातो जर्सी) र फिलिपिन्स ।

नेपालले गत वर्षमात्र एसिया रग्बी सेभेन्स ट्रफीको आयोजना गरेको थियो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न दुई दिने प्रतियोगितामा पुरुषका १४ र महिलाका सात टोलीको सहभागिता थियो । यति धेरै राष्ट्रिय टोलीको सहभागितामा अन्तर्राष्ट्रिय प्रतियोगिता हुनु रग्बीका लागि ठूलो उपलब्धि हो । तर, रग्बी भन्नेबित्तिकै आम जनमानसमा एउटै प्रश्न उब्जिन्छ, ‘रग्बी भन्ने खेल कस्तो हुन्छ ?’

 हालै मात्र संघ नेपाल ओलम्पिक कमिटीको सदस्यता प्राप्त गर्न सफल रह्यो ।

‘अहिले ५२ जिल्लामा रग्बीका गतिविधि भइरहेका छन् । जबसम्म एसियाली खेलकुद, ओलम्पिक, विश्वकप प्रतिस्पर्धामा हामीले रग्बीलाई लान सक्दैनौं, ट्रफी जित्न सक्दैनौं । हामीले यसलाई चाहेर पनि खेलप्रेमीमाझ चिनाउन सक्दैनौं,’ नेपाल रग्बी संघका महासचिव गोविन्द घिमिरे तर्क गर्छन् ।

पूर्वअध्यक्ष घिसिङ भने यसलाई फरक तरिकाले हेर्छन् । उनका अनुसार आवश्यक प्रवद्र्धन नहुँदा रग्बी खेल सुन्दर हुनुका बावजुद पछाडि परेको छ । घिसिङ भन्छन्, ‘मलाई लाग्छ हामी रग्बी जस्तो सुन्दर खेल प्रवद्र्धन गर्ने कुरामा चुकिरहेका छौं । दर्शकले रग्बीको स्वाद चाख्न पाएको खण्डमा दोहोर्याएर खेल हेर्न आउने कुरामा दुईमत छैन । रग्बी आफैंमा लोभलाग्दो खेल हो । यसको नियम बुझ्न सकियो भने समर्थक मैदान ल्याउन गाह्रो हुनेछैन । त्यसैले अहिलेदेखि नै प्रवद्र्धनको कुरालाई प्राथमिकतामा राख्न आवश्यक छ ।’

सेभेन-ए साइड पुरुष रग्बी टोली । 

नेपाल रग्बी संघले सन् २०१४ मा एसिया रग्बीको एसोसिएट सदस्यता प्राप्त गरेको थियो । चार वर्षपछि संघले पूर्ण सदस्यता प्राप्त गर्यो । त्यसपछि संघ २०२२ मा विश्व रग्बीको एसोसिएट सदस्य बन्यो । त्यसको दुई वर्षपछि संघले विश्व रग्बीको पूर्ण सदस्यता पायो । हालै मात्र संघ नेपाल ओलम्पिक कमिटीको सदस्यता प्राप्त गर्न सफल रह्यो ।

नेपाली राष्ट्रिय रग्बी टोलीले २०१५ यता निरन्तर अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो सहभागिता जनाइरहेको छ । यसमध्ये २०२३ मा चीनको हाङचाउमा सम्पन्न १९औं एसियाली खेलकुदमा नेपाली पुरुष टोलीले रग्बी सेभेन्समा सहभागिता जनाएको थियो । यो नै रग्बी टोलीले अहिलेसम्म खेलेको सबैभन्दा ठूलो प्रतियोगिता हो ।

अन्तर्राष्ट्रिय सहभागिता हेर्ने हो भने नेपालबाट पुरुष र महिला दुवै टोलीले प्रतियोगितामा बराबरी सहभागिता जनाएका छन् । 

यो वर्षको माघ महिनामा पाकिस्तानमा हुने १४औं दक्षिण एसियाली खेलकुदमा रग्बी सेभेन्सलाई पहिलो पटक समावेश गरिएको छ । जसमा नेपाली टोलीले सहभागिता जनाउने लगभग पक्का छ ।

नेपालको पुरुषमा सेभेन-ए साइड र फिप्टिन-ए साइड दुुवैतर्फ टोली निर्माण छ । महिलातर्फ भने सेभेन -ए साइड टोलीमात्र छ । सन् २०२२ मा बंगबन्धु रग्बी फिप्टिन्स प्रतियोगिता नेपालले खेलेको पहिलो अन्तर्राष्ट्रिय फिप्टिन्स हो । ढाकामा घरेलु टोली बंगलादेशविरुद्धको खेलमार्फत रग्बी १५ मा प्रवेश गरेपछि बल्ल नेपालको विश्व रग्बी महासंघको पूर्ण सदस्य बन्ने ढोका खुलेको थियो । टोली सोही वर्ष भारतमा सम्पन्न एसिया रग्बी डिभिजन ३ मा सहभागिता जनाउँदै विश्व रग्बीको क्यालेन्डरमा प्रवेश गरेको थियो ।

अन्तर्राष्ट्रिय सहभागिता हेर्ने हो भने नेपालबाट पुरुष र महिला दुवै टोलीले प्रतियोगितामा बराबरी सहभागिता जनाएका छन् । सन् २०१५ मा चेन्नईमा भएको प्रि-ओलम्पिक क्लालिफायरमा पुरुष टोलीले मात्र भाग लिएको थियो । त्यसयता भने महिला/पुरुष दुवै टोलीले निरन्तर रूपमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै आएको छ ।

नेपालले केही समयअघि मात्र राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा श्रीलंकाका लियोनार्ड डे जिल्बालाई नियुक्त गरेको छ । 

‘आसन्न १४औं सागमा पुरुष टोलीले सहभागिता जनाउने पक्का भइसकेको छ । हामी महिला टोलीको प्रतिस्पर्धाका लागि पनि आह्वान गरिरहेका छौं । एसियाली रग्बीको उपाध्यक्ष भएको हिसाबले मैले दक्षिण एसियाली ओलम्पिक कमिटीलाई महिलाको प्रतिस्पर्धा गराउन अपिल गरिरहेको छु,’ घिसिङ भन्छन्, ‘महिलालाई पनि समान अवसर दिनुपर्छ भनेर हामी लागिरहेका छौं । फेरि नेपाली महिला टोलीबाट हामी पदक आस गर्न सक्छौं ।’

सेभेन-ए साइड महिला रग्बी टोली । 

रग्बी संघले भर्खरै ललितपुरस्थित च्यासल रंगशालामा फिप्टिन्स रग्बी च्याम्पियनसिपको पाँचौं संस्करण सम्पन्न गरेको । पुरुषको प्रतिस्पर्धाले पाँचौं संस्करण पार गरिसक्दा महिला खेलाडीले यो अवसर प्राप्त गरेका छैनन् । संघले खेलाडी अभाव भएका कारण महिलाको प्रतियोगिता गर्न नसकिने बताउँदै आएको छ । कुनै पनि आधिकारिक प्रतियोगिता सञ्चालन गर्न कम्तीमा पनि चार टोलीको सहभागिता चाहिन्छ । महिलाको हकमा यो सम्भव नभएको संघको बुझाइ छ ।

नेपालले केही समयअघि मात्र राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा श्रीलंकाका लियोनार्ड डे जिल्बालाई नियुक्त गरेको छ । उनको नेतृत्वमा राष्ट्रिय टोलीले रग्बीमा फड्को मार्ने आस गरिएको छ । प्रशिक्षक जिल्बा पनि रग्बीप्रति खेलाडीको प्यासन र अनुशासन देखेर दंग छन् । उनी भन्छन्, ‘रग्बी खेलमा चाहिने मुख्य कुरा भनेको क्रिएटिभिटी, प्यासन र अनुशासन हो । मैले केटाहरूमा त्यो पक्ष देखेको छु । मैले नेपाली रग्बीको भविष्य उज्ज्वल देखेको छु । सबै रग्बीको विकासका लागि मिहिनेत गरिरहेका छन् ।’

 फिप्टिन्स रग्बी च्याम्पियनसिपको विजेता गाेर्खाली रग्बी क्लब ।