युरोपियन च्याम्पियनसिपअघिको अन्तिम अभ्यास खेलमा पोर्चुगलको प्रभावशाली जित

लिस्बन, (खेलाडी)- युरोपियन च्याम्पियनसिप (युरो २०२०) को तयारीमा खेलेको अन्तिम अभ्यास खेलमा पोर्चुगलले गएराति इजरायलमाथि ४-० को फराकिलो जित हासिल गरेको छ । 

कोभिड १९ को महामारीका कारण एक वर्ष ढिलो गरी हुन लागेको प्रतियोगिताअघिको अन्तिम अभ्यास खेलमा फर्नान्डो सान्तोषको पोर्चुगलले प्रभावशाली प्रदर्शन गर्दै सबै विपक्षीहरुलाई सचेत बनाएको छ ।

पोर्चुगलको प्रभावशाली जितमा गएराति ब्रुनो फर्नान्डेज नायक बने । उनले दुई गोल आफै गर्नाका साथै एक गोलका लागि अवसर सिर्जना गरेका थिए । मध्यान्तर हुन तीन मिनेट बाँकी रहँदा जाओ क्यान्सेलोको पासमा गोल गर्दे पोर्चुगलको खाता खोलेका फर्नान्डेजले इन्जुरी समयको पहिलो मिनेटमा टोलीका तर्फबाट अन्तिम गोल गरेका थिए । 

कप्तान क्रिस्टियानो रोनाल्डोले मध्यान्तर हुन एक मिनेट बाँकी रहँदा फर्नान्डेजकै पासमा गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर पारेका थिए । क्यान्सेलोले समय सकिन चार मिनेट बाँकी रहँदा टोलीको तेस्रो गोल गरेका थिए । 

युरोपियन च्याम्पियनसिपको समूह ‘एफ’ मा रहेको पोर्चुगलले विश्‍व च्याम्पियन टोलीहरु फ्रान्स र जर्मनी तथा हंगेरीसँग प्रतिस्पर्धा गर्नेछ । 

जुन १५ मा हंगेरीसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्ने पोर्चुगलले समूहको दोस्रो खेल जुन १९ मा जर्मनी तथा जुन २४ मा फ्रान्ससँग समूहको अन्तिम खलमा प्रतिस्पर्धा गर्नेछ ।