अमेरिकी युवा टोलीको प्रभावशाली जित

उटाह, (खेलाडी)- अमेरिकाको युवा टोलीले आज विहान उटाहस्थित टिन्टो रंगशालामा सम्पन्‍न मैत्रीपूर्ण खेलमा कोस्टारिकामाथि ४-० को प्रभावशाली जित हासिल गरेको छ । 

अमेरिकाका प्रशिक्षक ग्रेग बेर्हाल्टरले आइतबार कन्काकाफ नेशन्स लिगको फाइनलमा मेक्सिकोमाथि जित हासिल गरेको टोलीबाट आज विहानको खेलमा ९ खेलाडी परिवर्तन गरेका थिए । कोस्टारिकाविरुद्ध बेर्हाल्टरले पहिलो रोजाईमा मैदान उतारेको टोलीको औसत उमेर २३ वर्ष २ सय ७८ दिन थियो । 

क्रिस्टियन प्युलिसिच र वेस्टन म्याककेनीजस्ता स्टारहरुलाई बेन्चमा राखिएको खेलमा अमेरिकाका दुई खेलाडीले अन्तर्राष्‍ट्रिय गोलको खाता खोले । ब्रेन्डन आरोन्सनले आठौं मिनेटमा गोल गर्दै अमेरिकाको खाता खोलेका थिए । सम्पूर्ण समय विपक्षीमाथि हावी भएको खेलमा अमेरिकाका लागि मध्यान्तर हुन तीन मिनेट बाँकी रहँदा डारिल डाइकले अग्रता दोब्बर पारे । 

दोस्रो हाफको सुरुमै रेगी क्यानले पहिलो अन्तर्राष्‍ट्रिय गोल गरे भने समय सकिन १३ मिनेट बाँकी रहँदा इथान होर्भाथले पेनाल्टीलाई गोलमा परिणत गर्दै अमेरिकाको जित ४-० ले फराकिलो पारे । होर्भाथको त्यो पहिलो अन्तर्राष्‍ट्रिय गोल थियो, जुन उनको २६औं जन्मदिनका दिन भएको थियो ।