चाइनिज ताइपेईमाथि नेपालको वियययात्रा निरन्तर

काठमाडौं, (खेलाडी)- विश्‍वकप २०२२ र एसियन कप २०२३ को छनोट प्रतियोगितामा नेपालले चाइनिज ताइपेइविरुद्धको विजयी यात्रालाई निरन्तरता दिएको छ ।

कोरोना भाइरसको महामारीका कारण कुवेतको जाबेर अल हमाद अन्तर्राष्ट्रिय रगशालामा आफ्ना घरेलु खेलहरु खेलिरहेको नेपालले बिहीबार राति चाइनिज ताइपेईलाई २-० को नतिजामा पराजित गर्‍यो । नेपालका लागि चौथो मिनेटमै प्राप्त पेनाल्टीलाई गोलमा परिणत गर्दै अञ्‍जन विष्टले अग्रता दिलाएका थिए भने दोस्रो हाफमा बैकल्पिक खेलाडीका रुपमा मैदान छिरेका नवयुग श्रेष्ठले आकर्षक गोल गर्दै जित पक्का गरे ।

यही प्रतियोगिताको पहिलो लेगमा डेढ वर्षअघि पनि नेपालले चाइनिज ताइपेईमाथि ३-१ को जित हासिल गरेको थियो । चाइनिज ताइपेइकै मैदानमा सम्पन्‍न उक्त खेलमा अञ्‍जनले दुई गोल गरेका थिए ।

विश्‍वकप छनोटको तेस्रो चरणमा पुग्‍ने व्यवहारिक सम्भावना नभए पनि नेपालले चीनमा दुई वर्षपछि हुने एसियन कपको तेस्रो चरणको छनोट प्रतियोगितामा पुग्‍ने आशा राखेको छ । तथापि एसियन कपको आगामी चरणमा पुग्‍नलाई पनि नेपालले प्लेअफको सामना गर्नुपर्ने छ ।