कोपा अमेरिकामा कोलम्बिया तेस्रो 

रियो दी जेनेरियो, (खेलाडी)- इन्जुरी समयमा लुइस डियाजले गरेको गोलमा शनिबार विहान भएको प्लेअफमा पेरुमाथि ३-२ को जित हासिल गर्दै कोलम्बियाले कोपा अमेरिकाको तेस्रो स्थान हासिल गरेको छ .

दोस्रो हाफको मध्यतिर कोलम्बियालाई २-१ को अग्रता दिलाएका एफसी पोर्टोका विंगर डियाजले अत्यन्तै प्रतिस्पर्धात्मक खेलको ९४औं मिनेटमा लामो दुरीबाट कडा प्रहारमा गोल गर्दै कोलम्बियालाई तेस्रो स्थानको सान्त्वना दिलाएका थिए । 

योशिमार योटुनले पहिलो हाफको इन्जुरी समयमा अग्रता दिलाए पनि पेरुले त्यसलाई कायम राखिरहन सकेन । हुवाँ क्‍वार्डाडोले दोस्रो हाफ सुरु भएको चौथो मिनेटमा गोल गर्दै कोलम्बियालाई १-१ को बराबरीमा ल्याए । डियाजले ६६औं मिनेटमा गोल गर्दै कोलम्बियाको पुनरागमन प्रयास सार्थक बनाए । तर समय सकिन आठ मिनेट बाँकी रहँदा जियानलुका पापाडुलाले पेरुका लागि बराबरी गोल गरे । 

निर्धारित समयसम्म खेल २-२ को बराबरीमा कायम रहेपछि निर्णय टाई ब्रेकरबाट हुने सम्भावना बढेर गएको थियो । तर इन्जुरी समयको चौथो मिनेटमा लुइस मुरियलको पास उपयोग गर्दै डियाजले लामो दुरीबाट प्रहार गरेको बल गोलमा परिणत भएपछि पेरुको मेहनत खेर गएको थियो ।